कथाः नयाँ कोट

365

-यमुना पराजुली अधिकारी,

“ ला कोट त छोटो भएछ आमा ।” अभयले कोटको टाँक लगाउदै भने “अब जाडो पनि सुरु भई सक्यो स्कुललाई नयाँ कोट सिलाउनु पर्ने भो ।” अनि खुरर्र कुदेर किचेनमा पुगे । “हैन के भन्छ ? पोहोर मात्र सिलाएर जम्मा बिस दिन लगाएको होइन ?” आमाले तरकारी चलाउदै उ भए तिर हेर्दै नहेरी भन्नु भयो । “यता हेर्नुस न ।” उनले आमाको ध्यान आफु भए तिर तान्दै भने । “ ल हेर्नुस त हो कि होइन ?” आमाले उ भए तिर हेर्नु भयो । कोट त्यती छोटो पनि भएको थिएन जति अभयले भनिरहेका थिए । तर पोहोर भन्दा अलिकति छोटो चाहि भएकै हो । तै पनि यो सालको जाडो काट्छ भन्ने अनुमान गर्नुभयो ।

“ ठिकै छ त , यो साललाइ काम दिन्छ अर्को साल नयाँ किनि दिन्छु ।” अनि अभयलाई सम्झाउदै भन्नु भयो “ तिमी स्कुल जादा कोट लगाउन त्यति मन पनि गर्दैनौ । अफ्ट्यारो हुन्छ लेख्न खेल्न भन्छौ । अलि जाडो हुँदा मात्र लगाउने हो । यो जाडोलाई काम दिन्छ ।” आमाको कुरा सुनेर अभयको अनुहार अँध्यारो भयो । “ बेक्कार भनेछु होस पदैन म कोट नै लगाउदिन । पर्दैन अर्को साल नि चाहिन्दैन ।” अलि झर्केको स्वरमा भने उनले ।
अभय त्यसरी रिसाएको कहिल्यै थाहा थिएन आमालाई । सम्झाउदा हरेक कुरा बुझ्थ्यो । यो कुरामा त झन रिसाउनु पर्ने कारण त्यस्तो केहि थिएन । बास्तबमा कोट त्यति सारो छोटो भएकै थिएन । अनि किन रिसाएको होला भन्ने चिन्ताले आमालाइ सताइरह्यो । नरमाइलो लाग्यो । छोराछोरीको मन दुखाउन कस्लाई मन हुन्छ र ? घर ब्यबहार पनि चलाउनै पर्याे । फजुल खर्च गर्नुपनि भएन । सबै भन्दा ठुलो कुरा त्यो कोटले एक बर्ष अझै मज्जाले काम दिन्थ्यो ।

त्यसैले उहालाइ काम बिना अर्काे कोट किन्न पटक्कै मन थिएन । खाना खाँदा पनि कोहि सँग बोलेन । सधै हास्तै बोल्दै खानु पर्ने उ नबोलि खादै थियो । अनुहार पनि उज्यालो थिएन । सँगै बसेर खाना खाइरहनु भएकी हजुरआमाले पनि छक्क पर्दै सोध्नु भयो ।“ के भो बाबु आज तिमीलाई ?” “केहि भएको छैन हजुरआमा स्कुल जान ढिला भयो । म गए है ?” यति भनेर ब्याग बोकेर निस्किए । आमा पनि पछि पछि जानु भयो । गेट बाहिर उस्का साथीहरु सफल र निश्चल पर्खिरहेका रहेछन । आमाले माथीबाट नै देख्नु भयो । सफलले नयाँ कोट लगाएको रहेछ । अनि पो आमा झसङग हुनु भयो । अभयले किन यस्तो गर्याे ? बुझ्न गार्हो भएन आमालाई । अनि मनमनै केहि कुरा सोच्नु भयो र मुसुक्क हास्नु भयो । खाना खाइसकेर आमा कोट बोकेर ड्रइ क्लिनरकोमा जानुभयो ।

त्यो क्लिनरमा आफुले चिनेका मान्छे थिए । अभयका काका पर्ने त्याँहा काम गर्थे । “बाबु अब जाडो बढ्यो , अलि हतार गरेर यो कोट धोएर ल्याइदिनुपर्यो ।” अभयकी आमाले भन्नु भयो । “हुन्छ भाउजु म पर्सि सम्ममा ल्याइ दिन्छु । ति पसलेले भने । अभय घर आउने बेला सम्ममा उस्को मन पर्ने खाजा तयार गरिदिनु भएको थियो । हलुवा । उस्तै मुख लगाएर अभय घर आइपुग्यो । आमाले “आज बाबुको मन पर्ने हलुवा बनाकी छु आउ खान” भन्नुभयो । अभय नबोलि टेबुल मा आएर बसे । उ रिसाएको देखेर आमाले मुसुक्क हास्तै भन्नुभयो “ तिम्लाइ नयाँ कोट पनि आउदैछ पर्सि । मैले बनाउन दिइसके ।” अभयको अनुहार उज्यालो भयो । “वाउ हो र ?” भन्दै कराए पनि । अभय खुसी भएको देखेर आमाको अनुहार पनि उज्यालो भयो ।

पर्सि पल्ट दिउसो आमाले कोट लिनु भयो अनि स्कुलको पहिलेको ब्याज उक्काएर नयाँ लगाइदिनु भयो । अब कोट बिल्कुलै नयाँ देखियो । स्कुलबाट आउने बित्तिकै पहिले अभयले कोट हेरे । अनि लगाए पनि । अनि भने “ हो यो पो ठिक छ त । अब चाँहि ठिक्क भयो ।” अभयको ओठको मुस्कान अनि अनुहारको खुसी देखेर आमा मज्जाले हास्नु भयो । अनि थोरै झुट बोलेकोमा मनमनै माफी पनि माग्नु भयो ।