शुक्रबारबाट ‘तिमी हुन्छौ जहाँ–जहाँ’ प्रर्दशन हुने

110

असार ५,
पोखरा । असार ८ गतेदेखि फिल्म ‘तिमी हुन्छौ जहाँ–जहाँ’ प्रदर्शनमा आउने भएको छ । विकास बस्यालको निर्देशनमा बनेको फिल्मको प्रचारमा निर्माता र कलाकार जुटेका छन् । पोखराबाट प्रचारप्रसार थालिएको फिल्मका निर्माता दलचन्द्र दवाडीले बताए । फिल्म युनिट प्रचारका क्रममा चितवन, बुटवल र हेटौँडा हुँदै काठमाडौं फर्किनेछ । चलचित्र माया, प्रेम, वियोग, द्वन्द्व र हास्यव्यंग्यमा आधारित भएको निर्माण पक्षले जनाएको छ । दर्शकलाई आफूहरूले न्याय गरेको निर्माता दलचन्द्रले बताए । फिल्मका कार्यकारी निर्माता प्रकाश बास्कोटाले सबै हिसाबले फिल्म उत्कृष्ट बनेको दाबी गरे । दर्शक हलसम्म पुगेपछि भरपुर मनोरञ्जन लिने उनको जिकिर छ ।

ठूलो पर्दामा दोस्रोपटक अभिनय गरेका कलाकार मनीषसुन्दर श्रेष्ठले फिल्म राम्रो भएको बताए । आफ्नो मिहिनेतलाई दर्शकले मन पराउने उनको अपेक्षा छ । उनले आफ्नो रोल एक सोझो केटाका रूपमा रहेको बताए । मलिना जोशीले पनि फिल्ममा निकै मिहिनेत गरेको बताइन् । काठमाडौं, सिन्धुली, जोमसोम, मुस्ताङलगायत स्थानमा छायांकन गरिएको चलचित्र एक करोड ५० लाख खर्चमा बनेको बताइएको छ । चलचित्रमा जोशी, श्रेष्ठ, स्वरूपपुरुष ढकाललगायतको अभिनय छ । यही फिल्मबाट तमन्ना केसीले डेब्यु गरेकी छिन् । फिल्मको कथा निर्देशक बस्यालले लेखेका हुन्।