एक दम्पतिले आफ्ना शाखा सन्तानलाई अब कहिल्यै पनि विदेश नपठाउने अठोट गरे

208

असार ११,
म्याग्दी । दश वर्षको अवधिमा आफ्ना तीन छोराको वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएपछि घरको आँगनमा रातो बाकसमा आएका तीनवटा शव हेर्न बाध्य बनेका म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेलीका लीलमति र धनबहादुर रोकाले आफ्ना शाखा सन्तानलाई अब कहिल्यै पनि विदेश नपठाउने अठोट गरेका छन् । रोजगारको सिलसिलामा खाडीमुलुकमा धन कमाउन पुगेका तीन छोराको शव बाकसमा घरको आँगनमा आएपछि लीलमति र धन बहादुरका आँखा अहिले पनि रसाइरहेका छन् । धनबहादुर र लीलमतिका चार भाइ छोरामध्ये १० वर्ष अगाडि माहिला भक्तबहादुरको कतार, सात वर्ष अघि जेठा छोरा भक्तबहादुरको मलेसिया र कान्छा छोरा धर्मको गत वर्षको चैत महिनाको ११ गते मलेसियामै ड्युटी गरिरहेको अवस्थामा मृत्यु भएको थियो । दुईवटा छोराको सुतिरहेको अवस्थामा र एक छोराको डिट्युटीमै मृत्यु भएपछि रोका दम्पतीले आफ्नो साहिलो छोरा थमबहादुर र नातिहरुलाई कहिल्यै पनि विदेश नपठाउने अठोट गरेका हुन् । “बूढेशकालको सहारा एउटा छोरा मात्रै छ, तीनवटा छोरालाई दैवले लग्यो” आफ्नो कोखबाट जन्मिएको अन्तिम सन्तानलाई गुमाउँदाको पीडा सुनाउँदै लीलमतिले भने । “तीनवटा छोरालाई विदेशमै गुमाएँ, बँचेको साहिलो छोरा छ, हामी उसकै काखमा मृत्युवरण गर्न चाहन्छौँ, त्यसैले गरिबीले जति सताए पनि कुनै हालतमा पनि छोरा नातिलाई अब विदेश पठाउँदैनौँ ।” औषधोपचार र घरायसी कामको सिलसिलामा आमाबुबालाई सदरमुकाम बेनीमा लिएरआएका रोका दम्पतीका साहिला छोरा थमबहादुरले विदेश जानका लागि बनाएको राहदानी पनि स्व दाजु र भाइको राहदानीसँगै फालिदिएकोबताए । रोकाले भने “गाउँकै भिरपाखामा खेल्छु, आमाबुबाको हेरचाह गर्छु, एकपेट भोकै एकपेट मकै खाएर भए पनि गुजारा गर्छु तर आमाबाबाको मन कुँडाएर विदेश जान्न ।”