पहिले साथ, पछि लात 

पहिले साथ, पछि लात 

149

-रामजी ज्ञवाली ( साप्ताहिक)

आठ वर्षअघि कलेज पढ्दा बुटवलका सबिन र प्रविनाबीच प्रेम बस्यो । आफ्नी सपनाकी राजकुमारीसँग प्रेममा बाँधिएपछि सबिन परिवारलाई जानकारी गराउन हतारिए । प्रविनालाई परिवारसँग चिनजान गराउन उनले गुल्मीबाट बुबाआमा पाल्पा बोलाए, बुटवलबाट प्रविनालाई लिएर आफू पाल्पा हान्निए । तानसेनस्थित एक कटेजमा बुवाआमा, सबिन र प्रविनाबीच लन्चसहित कुराकानी भयो । प्रमिलाले केही वर्षमा विवाह गर्ने योजना सबिनका बुवाआमालाई सुनाइन् ।
२०६७ सालदेखि प्रेमसम्बन्धमा बाँधिएका सबिन र प्रविना नजिकिएनन् मात्र, उनीहरू दुवैका परिवारसमेत नजिकिए । झन्डै ५ वर्ष डेटमा रमाएका सबिन–प्रविनाको जोडी काठमाडौं, पोखरा, लुम्बिनी, चितवनदेखि विभिन्न ठाउँमा हप्तौं लामो यात्रामा निस्कन्थे । परिवारको चिन्ता भएन, कसले गाली गरोस् † यसबीच प्रविनाले सबिनसमक्ष एउटा प्रस्ताव राखिन्, ‘अमेरिका जाने अनि उतै बस्ने ।’

सबिनले काठमाडौंबाट आईएलटिएस गराए । दुई वर्षअघि प्रविनाले अमेरिकाको भिसा पाइन् । सबिन आफ्नो जीवन सुध्रिने कुरामा ढुक्क भए, कारण उनी आफ्नै लगानीमा प्रेमिकालाई अमेरिका उडाउँदै थिए । विदेश जाने क्रममा सम्पूर्ण खर्चसहित आफ्नी प्रेमीका एक्लै हुने भन्दै विभिन्न एजुकेसन कन्सल्टेन्सी धाउन थाले, साथी खोज्न । यत्तिकैमा प्रबिनाभन्दा झन्डै चार वर्ष कान्छा एक भाइ फेला परे । सँगै टिकट काट्ने निर्णय भयो । विदेश उड्नुअघि एउटा मन्दिरमा गोप्य रूपमा विवाह गरे उनीहरूले । विदेश जाने बेला आयो, सबिन, प्रविना र उनीहरूका परिवारले प्रविनालाई खुबै सम्झाए, ‘केटा मान्छेको भर हुँदैन, आफूभन्दा सानो छ भन्दैमा धेरै विश्वास नगर्नू, भविष्यका बारेमा ध्यान दिनू, सबिन आएपछि तिमीहरू दुई जना सँगै भैहाल्छौ, डन्ट वरी ।’

प्रविना सबिनको १५ लाखजति लगानीमा विदेश उडिन् । वासिङ्टन पुगेपछि उनीहरू दुवै आ–आफ्नो घर पुगे । प्रविना र सबिनबीच दिनरात कुरा भैरहन्थ्यो, तर बिस्तारै प्रविना टाढा हुन थालिन् । नेपालमा रहेका उनका श्रीमान् सबिनले प्रविना किन यसरी टाढा भएकी हुन् भन्ने विषयमा जान्न खोजे । उनले कलेजको नम्बर पत्ता लगाए र सोधे । त्यो भाइसँग पनि सम्पर्क गरे । भाइले ‘जन्डिस भएकाले बिरामी भै हस्पिटल हुनुहुन्छ दिदी, बाँकी मलाई थाहा भएन, म बस्ने त टाढा हो दाइ’ भने । सबिनले उनीहरूको परिवारसँग सोध्दा भने कुरा भैरहेको थाहा पाए । खोज्दै जाँदा सबिनले अन्ततस् सियाटलमा बस्ने एक जना दाइ फेला पारे । ती दाइसँगको कुराकानीवाट सबिनले पत्ता लगाए रहस्य । ती दाइले भने, ‘भाइ राजा प्रविना बस्ने मेरै घरमा हो, ऊ त झन्डै १ वर्षदेखि ती भाइसँग लिभिङ टुगेदरमा छिन् यार †’ प्रविना अमेरिका गएको सात दिनमै ती युवकलाई आफ्नो रुममा बोलाएर सँगै बस्न थालेकी रै’छिन् ।

कपिलवस्तुका सुदिप बेल्वासेले आफ्नी प्रेमिकाको अमेरिका पढ्ने भिसा लागेपछि काठमाडौंमा साथीभाइलाई बोलाएर भव्य पार्टी दिए । केही दिनपछि आफ्नै खर्चमा उनले प्रेमिकालाई अमेरिका उडाए । झन्डै ५ महिना दिनरात कुरा भए पनि त्यसपछि भने उनीहरू टाढिए । प्रेमिका टाढिन थालेपछि सुदीपलाई तनाव हुन थाल्यो । खोज्दै जाँदा थाहा भयो, उनकी प्रेमिका अरू कसैसँग लिभिङ टुगेदरमा छिन् । सुदीप उक्त कुरा थाहा पाएलगत्तै डिप्रेसनमा परे । झन्डै एक वर्ष औषधि सेवन गरी हाल उनी लगभग निको भैसकेका छन् । सुदिप भन्छन्, ‘मलाई डर त लागिरहेको थियो, त्यतिका खर्च गरेर विदेश पठाए, पैसा पनि सकियो, फोकटको पीडा मात्र भयो ।’ सुदीप अहिले पनि प्रेमिकामाथि विश्वास गरेर त्यत्रो लगानी गरेकामा पछुताइरहेका छन् ।

माथिका घटना सामान्य उदाहरण मात्र हुन् । विदेशमा पुग्ने नेपालीहरूबीच लिभिङ टुगेदर डढेलोका रूपमा बढ्दै गएको छ । अमेरिकामा रहेकी एक चर्चित अभिनेत्री लामो समयदेखि लिभिङ टुगेदरमा छिन् । अमेरिका आउजाउ गर्ने नेपालका एक चर्चित सेलिब्रेटी भन्छन्, ‘न्युयोर्कमा बस्ने उहाँको लिभिङ टुगेदरको लफडा अमेरिका गएदेखि नै सुरु भएको हो, अहिलेसम्म आधा दर्जन केटा फेर्नुभयो होला ।’

अमेरिका, अस्ट्ेरलिया, बेलायत, हङकङ, जापान आदि देश पुग्ने कतिपय नेपाली युवायुवती लिभिङ टुगेदरमा बस्नु नयाँ कुरा होइन । खर्च बचत गर्न तथा सेयरिङका लागि सजिलो हुने भएकाले अधिकांश युवायुवती लिभिङ टुगेदरमा बसेको पाइन्छ । बेलायत बसेर लामो समयदेखि म्युजिक भिडियो निर्देशन गर्दै आएका कुशल श्रेष्ठ भन्छन्, ‘विभिन्न बाध्यता तथा आवश्यकताका कारण विदेशमा नेपालीहरू लिभिङ टुगेदरमा बसेको पाइन्छ, यो शैलीलाई यहाँ सामान्य रूपमा लिइन्छ ।’ कतिपय विवाह गरौंला भनेर सँगै बस्छन् भने कोही आफ्ना आवश्यकताहरू पूरा गर्न मात्र । श्रेष्ठ थप्छन्, ‘पहिले सँगै बस्दा विवाह गरौंला भनेर वाचा गर्छन्, तर अधिकांश भने छुट्टिन्छन् ।’ विदेशमा बस्ने नेपाली युवायुवतीहरूमध्ये कतिपय नेपालमा भएका श्रीमान्–श्रीमतीलाई ढाँटेर लिभिङ टुगेदरमा बस्छन् । विदेशमा लिभिङ टुगेदरमा बस्दा न कानुनी झमेलाहरू छन्, न त समाजबाट बहिष्करणको चिन्ता नै ।

पहिले साथ, पछि लात 

विदेशमा लिभिङ टुगेदरमा बस्ने युवा होस् वा युवती । उनीहरू त्यहाँको दैनिकी धान्न नसकेर पार्टनरको खोजिरहेको पाइन्छ । अमेरिकामा लामो समयदेखि अध्ययनरत काठमाडौंका शिशिर अधिकारी भन्छन्, ‘म भर्खरै नेपाल आएर विवाह गरी फर्किए, तर अमेरिकामा आउने मेरा अधिकांश साथी लिभिङ टुगेदरमा फस्ने गरेका छन् ।’ लिभिङ टुगेदरमा बस्ने युवा होस् वा युवती, संघर्षका बेला साथ खोज्ने र पछि आफू अलिकति व्यवस्थित भएपछि एकले अर्कालाई लात हान्ने परम्परा मौलाउँदो छ । ‘कसैले कसैलाई माया गरेर लिभिङ टुगेदरमा बस्ने होइन,’ उनले थपे, ‘खर्च सेयर हुने र आफ्नो शारीरिक आवश्यकता पनि पूरा हुने भएकाले सँगै बस्छन् । आफन्तहरूले समेत कुनै कुरा थाहा नपाउने भएकाले यो संस्कृति विदेशमा बस्ने नेपालीहरूबीच मौलाउँदो छ ।’

सहरीकरणसँगै भागदौडपूर्ण जीवनमा एकअर्काको साथ, भावना साटासाट तथा तनाव कम गर्नसमेत उनीहरू लिभिङ टुगेदरमा बसेको पाइन्छ । जापानमा बस्ने काठमाडौंका ईश्वर ढकाल भन्छन्, ‘सुरुमै यहाँ आउनेहरू अलिकति व्यवस्थित जीवनशैली बाँचिरहेका हुन्छन्, पछि आउनेहरूलाई जागिर फेला पार्न तथा यहाँको संस्कृतिमा भिज्न केही समय लाग्छ । विशेष गरी पछि आउने युवतीहरू लिभिङ टुगेदरका लागि पार्टनर खोजिरहेका हुन्छन्, किनभने उनीहरू पैसा र साथको खोजीमा हुन्छन् ।’

नेपालबाट उच्च शिक्षाका लागि विदेश जाने अधिकांश विद्यार्थीहरू लिभिङ टुगेदरको लफडामा परेको पाइन्छ । लामो समयदेखि अस्ट्ेरलिया बस्दै आएका ईश्वरी ढकालका अनुसार लिभिङ टुगेदरमा बस्ने अधिकांश विद्यार्थी छन् तर अधिकांश सुरुमा मिले पनि पछि भने निकै ठूलो तनावमा पर्ने गरेका छन् । मैले सुन्दै र देख्दै आएको कुरा के हो भने, लाखौं खर्च गरेर यहाँ आएपछि अध्ययन र परिवारलाई केही खर्च पठाउनुपर्ने हुन्छ तर लिभिङ टुगेदरको लफडामा परेपछि न पैसा न अध्ययन भएर सडकमा झरेका धेरै विद्यार्थी देखेको छु, उनले भने, ‘विशेष गरी युवतीहरू पछि नेपाल गएर विवाह गर्ने बेला कहीं–कतैबाट विदेशमा लिभिङ टुगेदरमा बसेको जानकारी पाएपछि युवतीहरू थप पीडामा पर्छन् ।’ खर्च व्यवस्थापन गर्न र भावना साट्न विदेशमा आउने नेपालीहरूले यसलाई सामान्य रूपमा लिन्छन्, तर उनीहरू पछि भने सँगै बस्दैनन्, विभिन्न लफडा झिकेर छुट्टिन्छन्, –ढकालले भने ।

रोजगारीका सिलसिलामा बिदेसिने धेरै नेपालीले उतै आफ्नो लगनगाँठो कसेका छन् । आपसी सहमतिमा गरिएका अनौपचारिक तथा गुपचुप रूपमा कसिएका लगनगाँठोका घटना खाडी मुलुकमा समेत अनगिन्ती छन् ।

हङकङ बस्ने कतिपय युवायुवती लिभिङ टुगेदरमा बस्दै आएको साप्ताहिक संवाददाता अनोज रोक्का बताउँछन् । रोक्का भन्छन्, ‘युवा होस् वा युवती, एकले अर्काको साथ खोजिरहेका हुन्छन् र अन्ततस् सँगै बस्छन् ।’ सुरुमा यहाँ आउँदा आफन्त कोही हुँदैनन्, महँगी अत्यधिक छ । लिभिङ टुगेदरमा खर्च पनि सेयर हुने र विदेश बस्न सहज समेत हुने भएकाले नेपाली युवायुवतीहरू लिभिङ टुगेदरमा बस्ने चलन व्यापक हुँदै गएको उनको भनाइ छ । हङकङमा फ्रिडम छ, परिवारले छोराछोरीहरू के गरिरहेका छन् भन्ने पत्तो पाउने कुरा भएन, उनले थपे, ‘तर लिभिङ टुगेदरको केही महिना अथवा वर्षपछि भने विभिन्न बहानामा लफडा सुरु हुने र अन्ततस् छुट्टिने धेरै छन् ।’ कतिपय नेपाली युवतीहरू कसैलाई थाहा नदिई विदेशी युवाहरूसँग लिभिङ टुगेदरमा बस्ने गरेको समेत रोक्काले बताए ।

न पैसा बच्यो, न जीवनसाथी

आफ्नै श्रीमान् अथवा श्रीमतीजस्तै बसेपछि सबै खर्च धान्नुपर्छ । सन्चोबिसन्चो होला, त्यो खर्च पनि दुवै जनाले मिलाउनुपर्‍यो । व्यक्तिगत आवश्यकताहरूका साथै कोठाभाडादेखि सबै कुरामा दुवै जनाले खर्च गर्नुपर्‍यो, तर स–साना कुरामा बिस्तारै लफडा सुरु हुन्छ । अस्ट्ेरलियामा बस्ने कमल खड्का भन्छन्, ‘एकैछिनको आवेशमा सँगै वस्ने निर्णय गर्छन् तर पछि उनीहरू न एकले अर्काको साथ पाउँछन्, न पैसा जोगाउन सक्छन् ।’

जापानमा बसोबास गर्दै आएका ईश्वर ढकालका अनुसार ‘नेपालीहरू यहाँ आएपछि यहाँकै संस्कृतिमा घुलमिल हुन खोज्छन् । लिभिङ टुगेदर पनि यहाँको संस्कृतिजस्तै हो र उनीहरू लिभिङ टुगेदरमा बस्न रुचाउँछन् ।’ लिभिङ टुगेदर केही रमाइलो तथा केही व्यक्तिगत आवश्यकता धान्न बसिए पनि यसले पछि भने धेरैलाई तनावमा पारेको उनको भनाइ छ । केही आत्महत्याका खबर पनि आएका छन् । कुरा बुझ्दै जाँदा उनीहरू लिभिङ टुगेदरमा बस्ने र खर्च अभाव तथा नेपालको रिन तिर्न नसक्ने कारणले त्यस्तो निर्णय लिइएको देखियो । ढकालले भने, ‘लिभिङ टुगेदरमा बसेका अधिकांश पछि पछुताएको पाइन्छ ।’  -शिर्षक परिर्वतन गरिएको