ब्याजदर बढ्दै गएपछि व्यवसायी प्रभावित

155

असार २१,
चितवन । बैंकहरुले ब्याजदर बढाउँदै लगेपछि उद्योगी व्यवसायी प्रभावित बनेका छन् । शुरुमा बैंकले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि उद्योगी व्यवसायी मर्कामा परेका हुन् । ब्याज वृद्धिको प्रभाव मुख्य रुपमा उत्पादन क्षेत्रमा परेको उद्योगीहरु बताउँछन् । उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडी आफूले होटल सञ्चालनका लागि आठ प्रतिशत ब्याजदरमा ऋण लिएको तर अहिले वृद्धि भएर १३ प्रतिशत पुगेको बताउनुहुन्छ । रु चालीस करोड ऋणको पाँच प्रतिशत ब्याज वृद्धिले वार्षिक रु दुई करोड नोक्सान व्यहोर्नु परेको भन्दै उहाँले भित्रभित्रै उद्योगी व्यवसायी सकिँदै गएको बताउनुभयो ।

“नेपालमा उद्योग खोल्नु भनेको सुकुम्वासी हुनु हो, ब्याजदर नघटेमा धेरै उद्योग टाट पल्टने स्थिति छ,” उहाँले भन्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ३ का उपाध्यक्ष राजन गौतम सरकारले अन्य क्षेत्रको सिण्डिकेट तोड्ने प्रयास गरे पनि पूँजी बजारमा नहेर्दा उद्योगी व्यवसायी मर्कामा परेको बताउनुहुन्छ । उत्पादन क्षेत्रमा सात प्रतिशत सम्ममा प्रवाह भएको ऋण १४ प्रतिशतसम्म पुगेको भन्दै उहाँले दोब्बरसम्म ब्याज वृद्धि हुँदा उद्योगी व्यवसायीले धान्ने अवस्था नरहेको बताउनुभयो ।

“जसरी बैंकको ब्याजदर बढेको छ त्यसैगरी मुनाफा बढ्न सक्दैन, यो तालमेल नमिल्दा धेरै उद्योगी व्यवसायी धाराशयी हुने अवस्थामा पुगेका छन्,” उहाँले भन्नुभयो । बैंकहरुले सिण्डिकेट गरेर ब्याजदर बढाउनु आफँैमा खराब भएको भन्दै गौतमले स्प्रेड दर पाँच प्रतिशतलाई घटाएर दुई प्रतिशतमा झार्नुपर्ने बताउनुभयो ।