भक्तपुरमा मासु पोखिदिएको निहुँमा यसरी मारिए कार्की

902

असार २४,
भक्तपुर । असार १५ गते नेपालीहरुको दहि चिउरा खाने दिन । सबैजना घरमा परिवारसंग बसेर दहि चिउरा खाएर चाड मनाई रहेका थिए । रातको १० बजे मदिरा, कुखुराको मासु र चिउरा खाइरहेका एक समुहको लागि त्यो दिन कालो रात भयो । ६ जना मध्य एकजनाको जिवन सकियो । अन्य पाँच जनाले भने कहिल्यै नमिटिने कंलकको टिका आफ्नो निधारमा लगाए ।
असार १६ गते महानगरिय प्रहरी परिसर भक्तपुर मातहतको एक इकाइमा बिहान ७ बजे नै फोन बज्यो । खबर थियो भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ८ मा एकजनाको शव फेला परेको छ ।

तत्कालै प्रहरीको टोली घटनास्थल पुग्दा उक्त नगरपालिकाको जितपुर स्थित दिनेश खड्काको घर डेरा गरी बस्ने राजेन्द्र चौधरीको कोठामा सोही स्थानका ३६ वर्षका उमेश कार्कीको विभत्स शव भुइमा लडिरहेको थियो ।
सर्लाही जिल्ला हरिपुर नगरपालिका वडा नम्बर ८ जगतपुरका ३५ वर्षे राम सागर चौधरी नेपाली सेनाको प्युठ दर्जाको जागिरे थिए । सेनाको श्री नयाँ सबुज गण दरबन्दी भएका उनी घर बिदामा थिए ।
घरबिदामा भएपनि ग्रिल सम्बन्धी काम जानेका उनी केही पैसा कमाउने उद्देश्यले साथीसंगै भक्तपुर आएको प्रहरी अनुसन्धानमा खुलेको छ । सर्लाहीको सोही नगरपालिका वडा नम्बर ७ का गंगाराम चौधरी काठमाडौ महानगरपालिका सानो भ¥याङमा कोठा गरेर बस्ने गरेपनि कामको सिलशिलामा भक्तपुर आउने गरेका थिए ।
महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक हिमालय कुमार श्रेष्ठका अनुसार उमेशको हत्यामा संग्लन पाँच जना मध्य तीन जना अझैं फरार छन् । राम सागर र गंगाराम चौधरीलाई मात्र प्रहरीले आइतबार सार्वजनिक गरेको छ । ‘अन्य आरोपीलाई पनि केही दिनमा सार्वजनिक गछौं’ प्रहरी उपरिक्षक श्रेष्ठले भने ।

उमेश कार्की (मृतक)

कसरी भयो घटनाः
घटनामा संग्लन भएका चार जना चाँगुनारायण नगरपालिका वडा नम्बर ८ हनुमान चोकमा धन बहादुर गहतराजले संचालन गरेको ग्रिल उद्योगमा काम गर्ने मजदुर रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरु असार १५ गते बेलुका ८ः ३० बजेको समयमा कोठामा बसेर मदिरा पिइरहेका थिए ।
सोही स्थानमा स्थानीय उमेश कार्की (मृतक) समेत आएर संगै मदिरा सेवन गर्न थाल्छन् । मदिरामा पिउदैं रमाइरहेका उनीहरु बीच एकाएक भगडा पर्छ । हत्याको आरोपी समुहले पकाएको कुखुराको मासु पोखिएको भन्दै मृतकमाथी रड र धारिलो हतियार प्रहार हुन्छ ।

आक्रोशित उनीहरुले निरन्तर मुख र टाउकोमा चक्कु प्रहार भएपछि मृतक कार्की तेही लड्छन् ।
त्यसपछि पाँच जना नै फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । महानगरिय प्रहरी परिसरको टोलीले हत्यामा संग्लन राम सागरलाई सर्लाही जिल्ला हरिपुर नगरपालिका वडा नम्बर ८ घरबाट र गंगाराम चौधरी काठमाडौ सानो भ¥याङमा कोठाबाट पक्राउ गरेको हो । प्रहरी भक्तपुर जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्धामा म्याद थप गरि घटनाको थप अनुसन्धानलाई अगाई बढाएको जानकारी दिएको छ ।