सुत्केरी भत्ता वितरण हुन सकेन्

148

असार २५,
बैतडी । बैतडीका धेरैजसो स्थानीय तहमा सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता पाउन सकेका छैनन् । गएको फागुनदेखि धेरै ठाउँमा सुत्केरी आमाले भत्ता पाउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले बताउनुभयो । रकम कम विनियोजन भएकाले चालू आवमा समयमै सुत्केरी भत्ता दिन नसकेको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिनुभयो ।

स्वास्थ्य संस्थामा बच्चा जन्माएबापत एक हजार र चार पटक गर्भजाँच गराएबापत रु ४०० गरी सुत्केरी आमालाई एकमुष्ट रु एक हजार ४०० दिइन्छ । सुत्केरी आमालाई समयमै भत्ता दिन नसकिएको सकार स्वास्थ्यचौकीका इञ्चार्ज नरेन्द्रराज भट्टराईले बताउनुभयो । बैतडीमा एक वर्षमा छ हजार बढी आमा सुत्केरी हुने अनुमान छ । सुत्केरी भएबापत आमाले पाउने रकम समयमै नपाउनाले समस्या भएको स्वास्थ्य संयोजकले जनाएका छन् ।

फागुनदेखि सुत्केरी भत्ता वितरण गर्न नसकेको र अब एकैचोटी दिने तयारी गरेको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीको भनाइ छ । जिल्लाभरिका स्वास्थ्यसंस्थाबाट पाउनुपर्ने सुत्केरी भत्ता पछिल्लो समयमा रोकिएको स्वास्थ्य संस्थाले जनाएका छन् । हचुवाका भरमा रकम विनियोजन भएकाले अहिले समस्या भएको हो ।