सरकारप्रतिको जनविश्वासमा ह्रास

90

समाचारपत्र दैनिक- असार २६,
काठमार्डौ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई इतिहासकै सर्वशक्तिमान् सरकारका रुपमा लिने गरिएको छ । दुई तिहाइ बहुमतको समर्थन रहेको ओली सरकारमा संलग्न नेताहरुले समृद्ध नेपाल र सुखी नेपाली बनाउने दिशामा मुलुक अघि बढ्ने आश्वासन चुनावताकादेखि नै दिएका थिए । तर अहिलेसम्म देखिएको राजनीतिक परिदृश्यले मुलुक त्यसतर्फ अघि बढ्ने संकेत देखाइरहेको छैन । दुई तिहाइ बहुमत हुँदा पनि सरकारलाई काम गर्नबाट कसले रोकेको भन्ने प्रश्न आखिर सबैतिरबाट उठ्न थालेको छ ।

अहिलेको राजनीतिमा नेपाली कांग्रेसबाहेक असबैजसो दलले सत्तालाई समर्थन गरेका छन् । वर्तमान सरकारको हालको अंकगणितीय आधारमा हेरिँदा यसको पाँच बर्से शासनमा बाधा हुने देखिँदैन । यद्यपि वर्तमान ओली सरकारको कार्यक्षमता, सोच आदि पहिलेका सरकारका भन्दा तात्विक अर्थमा फरक देखिएको अनुभूत जनताले गर्न सकेका छैनन् । सरकारले प्रत्येक नेपालीलाई सुखी बनाउन भन्दै अनेकानेक सपना बाँडे पनि ती सपना पूरा गर्नेतर्फ मुलुक अघि बढिरहेको विश्वास कसैले गर्न सकेका छैनन् । यसले गर्दा सरकारप्रतिको जनविश्वास क्रमशः तल झर्दै गएको छ ।

मुलुकको सबैतिर देखिएको अस्तव्यस्ततामा सुधार हुने आधार र लक्षण देखिएको छैन । चार–पाँच महिनाको छोटो अवधिमा सरकारको समग्र मूल्यांकन नभए पनि मुलुकलाई समृद्धितर्फ हाँक्ने पूर्वसंकेत भने देखिनुपर्ने हो । तर सरकारको छवि जनहितका मुद्दा बिर्सिएको, शक्तिको उन्माद देखिएको, अरुलाई होच्याउने र घृणा फैलाउन किसिमको देखिएको छ ।