किर्ते बाबुआमा बन्ने तीनजना पक्राउ

151

असार ३०,
बर्दिया । किर्ते गरी नागरिकता बनाउने र बाबुआमा बन्ने तीनजना पक्राउ परेका छन्। बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका हुन्। तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही प्रक्रिया अघि बढाएको छ। वडाध्यक्ष तुलप्रसाद गौतमले जन्मदर्ताका आधारमा नागरिकताकोे सिफारिश गरेका थिए। गत चैत २ गते शर्माले वडा कार्यालयको त्यही सिफारिश इलाका प्रशासन बाँसगढीमा पेश गरी ६५१२७४१२२२२ नम्बरको नागरिकता लिएकी थिइन्। २०५५ फागुन ७ गते जन्मिएकी शर्माले नागरिकता प्राप्त गरेलगत्तै राहदानीका लागि सिफारिस लिएकी थिइन्। नागरिकता छानबिनकै क्रममा रहेकाले राहदानी वितरण हुन नसकेको प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले नागरिकता सिफारिश गर्ने गराउने र प्राप्त गर्नेविरुद्ध नागरिकता ऐनअनुसार कारवाही हुने बताए।