प्रहरीको सुरक्षामाथि गोरेलाई शंका, सेनाको माग

115

नयाँ पत्रिका दैनिक- असार ३२,
काठमाडौं । साढे ३३ किलो सुन तस्करीका मास्टरमाइन्ड भनिएका चूडामणि उप्रेती ‘गोरे’ ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन् । प्रहरीसँग असुरक्षित महसुस गर्दै उनले सेनाको सुरक्षा मागेको कारागार स्रोतले जनाएको छ । ‘सुरक्षामा खटिएको प्रहरीलाई टोलाएर हेर्छ । कहिले सुरक्षा नपुगेको भन्दै कराउँछ । केही दिनअघि आफूलाई सेनाको सुरक्षा हुनुपर्ने माग ग(यो । उसले किन यस्तो भनिरहेको छ थाहा भएन,’ कारागार व्यवस्थापन कार्यालयका एक अधिकृतले भने ।

गोरेका भाइ दुबईमा पक्राउ
सुन तस्करी प्रकरणमा गोरेका भाइ रमेश उप्रेती पनि पक्राउ परेका छन् । उनी दुबईबाट पक्राउ परेका हुन् । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ९इन्टरपोल०को आग्रहमा दुबई प्रहरीले रमेशलाई पक्राउ गरेको हो । रमेश पक्राउ परेको उच्चस्तरीय छानबिन समितिका डिएसपी भीष्म हुमागाईंले पुष्टि गरे । उनले भने, ‘रमेशविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो  । उनी पक्राउ परे भन्ने सुनिएको छ । यस विषयमा हामी बुझ्दै छौँ ।’ रमेशलाई नेपाल ल्याउन आवश्यक कागजात मिलाउने काम भइरहेको छ । केही दिनभित्रै उनलाई नेपाल ल्याइने समितिले जानकारी दियो ।

तस्करीमा रमेशको ‘कनेक्सन’
सुन तस्करी प्रकरणमा उनलाई गोरेपछिका मास्टरमाइन्ड तस्कर मानिएको छ । समितिका अनुसार तस्करीको सुन दुबईबाट रमेशले नेपाल पठाउँथे । उक्त सुन नेपालमा गोरेले बुझ्थे । भारतसम्म पुयाउने काम गोरेले गर्थे । समितिका अनुसार सुन खरिदपछि भुक्तानीबापतको रकम हुन्डीमार्फत रमेशले बुझ्थे र विक्रेतालाई भुक्तानी गर्थे ।

डिप्रेसनमा गोरे
काठमाडौंस्थित केन्द्रीय कारागारको गोलघरमा कैद सजाय भोगिरहेका चूडामणि उप्रेती गोरे केही समयदेखि डिप्रेसनमा गएका छन् । कारागार व्यवस्थापन कार्यालयका अनुसार गोरे कसैसँग नबोल्ने, बोलिहाले पनि बेसुरको कुरा गर्ने, डराएजस्तो गर्ने, एक्लै बस्ने, अनायसै टोलाउने र आँखाबाट आँसु झार्नेजस्ता व्यवहार देखाउने गरेका छन् । जिल्ला अदालत मोरङको आदेशपछि पुर्पक्षका लागि २८ जेठदेखि उनी गोलघरमा छन् । पछिल्ला दिन उनलाई परिवारका सीमित सदस्य र निजी वकिलसँग मात्रै भेट्न दिइएको कारागारले जनाएको छ । कारागार व्यवस्थापन कार्यालयका अधिकृत श्रवणकुमार साहले उप्रेतीमा केही समस्याको संकेत देखिएको बताए । ‘कोहीसँग बोल्न मान्दैन । टोलाएर बसेको देखिन्छ । कहिले रोएकोजस्तो पनि देखिन्छ । पछिल्ला दिनमा परिवारका सीमित सदस्य र वकिलसँग भेट्न दिइएको छ । उनीहरूसँग भेट्दा पनि यस्तै व्यवहार देखाउँछ,’ उनले भने ।

गोरेलाई जचाउन अस्पताल पुयाइएको, तर कुनै औषधि नचलाइएको कारागारको भनाइ छ । गोरेले पनि डाक्टरसँग आफूलाई केही नभएको बताउने गरेका छन् । गोरेको निद्रा र खानपान सामान्य अवस्थामै रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको डाक्टरलाई उद्धृत गर्दै कारागार व्यवस्थापनले बतायो ।