ल्वाङ चिया पिउनुस् फाइदा उठाउनुस्

201

-आरएम कार्की
चिया हाम्रो संस्कार हो । अधिकांश नेपालीलाई बिहान उठेपछि एक कप चिया पिउनैपर्छ । अझ सहरी क्षेत्रमा त भेटघाट वा छलफलमा चिया बहाना नै बन्ने गरेको छ । तर, चिया बढी पिउँदा त्यसले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्छ । यद्यपि, शरीरलाई फाइदा पुर्‍याउने चिया पनि छन् । जसमा एउटा पर्छ, ल्वाङ चिया ।

-ल्वाङवाला चिया अदुवा र अलैँची चियाभन्दा पनि बढी फाइदाजनक हुन्छ । त्यसैले यस्तो चियाको प्रयोग गर्ने बानी बसाउँदा स्वस्थ्यमा लाभ हुन्छ ।

-यस्तो चिया पिउनुको सबैभन्दा बढी फाइदा रुघाखोकीबाट बच्नका लागि हुन्छ । ल्वाङको चियामा हुने गर्मी गराउने तत्वले रुघाखोकीबाट टाढा राख्नुका साथै राहतसमेत प्रदान गर्छ ।

-हल्का भोक छ भने ल्वाङ चियाले निकै फाइदा पुर्‍याउँछ । एक कप तातो ल्वाङको चियामा यस्तो गुण हुन्छ, जसले तत्काल भोकमा राहत प्रदान गर्छ ।

-पछिल्लो समय अधिकांश मानिस हाडको दुखाइको समस्याबाट ग्रसित छन् । यस्ता समस्या भएका मानिसले ल्वाङ चिया पिउँदा ल्वाङमा हुने एन्टिइन्फ्लेमेटरी तत्वले राहत पुर्‍याउने गर्छ ।

-अहिले एसिडिटी पनि आमसमस्या बन्दै गएको छ । यस्तो हुँदा पेट दुख्ने, पोल्नेजस्ता समस्या पनि हुने गर्छ । यस्तो समस्या हुने मानिसले ल्वाङ चिया पिउँदा त्यसमा भएको औषधीय गुणले पेटलाई आराम प्रदान गर्छ ।

-दाँतको दुखाइ छ भने पनि ल्वाङको चिया सेवन गर्दा हुन्छ । यस्तो चियाले दाँत दुखाइमा राहत प्रदान गर्छ । ल्वाङ दाँत दुख्ने समस्याका लागि निकै फाइदाजनक मानिन्छ ।

यसरी बनाउनुस्
पहिला दुईदेखि तीनवटासम्म ल्वाङ लिनुहोस् । त्यसलाई पिँधेर पाउडर बनाउनुस् । यस्तो पाउडरलाई पानीमा हालेर १० मिनेटसम्म उमाल्नुस् । र, त्यसमा आवश्यकताअनुसार चियापत्ती र चिनी राख्नुस् । त्यसपछि दूध राखेर केहीबेर पुनः उमाल्नुस् । अनि तयार हुन्छ, ल्वाङ चिया । –नयाँ पत्रिकाबाट