जय शिव शंकरः डोलेश्वरमा सुरु भयो श्रावणी मेला

228

साउन १,
भक्तपुर । केदारनाथको शिर डोलेश्वर मन्दिरमा मंगलबार (आज) बाट श्रावणी मेला सुरु भएको छ । मंगलबार बिहान पौखेलको पीपलचौतारीबाट चन्द्रबिनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा सम्पन्न भएको हो ।
सूर्यबिनायक नगरपालिका वडा नं. ८ मा अबस्थित उक्त मन्दिरमा मंगलबारदेखि सञ्चालन भएको मेला भदौ ६ गतेसम्म नियमित रुपमा चल्ने केदारनाथको शिर डोलेश्वर महादेब संरक्षण तथा विकास समितिका सचिव एवं प्रचार प्रसार समितिका संयोजक मोहन बल्लले जानकारी दिए ।

३७ दिने मेलाको लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरुको सहजताका लागि लाईनमा कुपन प्रणालीको व्यवस्थाका साथै ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको बन्दोबस्ती मिलाएको उनले बताए । म्ंगलबार विहान गरिएको कलशयात्रापछि मन्दिर परिसरमा आयोजित एक कार्यक्रमकाबीच श्रावणी मेलाको स्वामी चुडामणि महाराजले औपचारीक रुपमा उद्घाटन गरेका हुन् । साथै उनले मन्दिर परिसरमा १६ टनको एउटा बसाहाको अनावरण पनि गरे ।

उक्त कार्यक्रममा पुर्वमन्त्रीद्वय शंकर भण्डारी र महेन्द्र यादव, प्रदेश नं ३ का प्रदेश सांसद शशिजंग थापा, प्रतिभा श्रेष्ठ र रजनी जोन्छे, सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापालगायतको सहभागीता रहेको थियो ।
मन्दिर परिसरमा १६ टनको एउटा बसाह पनि निर्माण गरिएको छ । उक्त बसाह निर्माणका लागि ढुंगा काभ्रेको पनौती नगरपालिका वडा नं १ रोशीबाट ल्याईएको समितिले बताएको छ । पनौतीबाट ल्याईएको उक्त बसाहको निर्माण भक्तपुरकै सुडालका मजदूरहरुले गरेको समितिका कोषाध्यक्ष बिश्वराम थापाले जानकारी दिए ।
उनका अनुसार उक्त बसाह निर्माणका लागि बारा जिल्लाको निजगढी नगरपालिकाका स्थानीय शम्भुबहादुर बुढाथोकीको परिवारले सहयोग गरेको हो । बसाहा निर्माणका लागि ११ लाख १० हजार रुपैयाँ खर्च भएको कोषाध्यक्ष थापाले बताए ।
उनका अनुसार साउन १ गतेदेखि सुरु भएको उक्त श्रावणी मेलामा २ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको छ ।