प्रधानमन्त्री ओलीको सम्बोधन कार्यक्रममा कांग्रेसले अवरोध गर्ने

191

साउन २,
गण्डकी प्रदेश । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गण्डकी प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् । प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधन कार्यतालिका तयार गरिसकेको छ । अधिकांश प्रदेशसभामा सम्बोधन गरिसकेका ओलीले नयाँ संरचना बनेपछि पहिलो पटक गण्डकी प्रदेशसभालाई सम्बोधन गर्न लागेका हुन् । बिहीबार मध्यान्ह साढे १२ बजेका लागि प्रदेशसभा सचिवालयले प्रधानमन्त्रीको सम्बोधनबारे निम्तो पठाईसकेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामा अवरोध गर्ने बताएको छ । केन्द्रीय समितिकै निर्णय अनुसार कुनै पनि बैठक सञ्चालन गर्न नदिने कांग्रेस गण्डकी प्रदेशका उपनेता मेखलाल श्रेष्ठले बताए । ‘केन्द्रकै निर्णय अनुसार अवरुद्ध गर्न लागिएको हो,’ उनले भने, ‘यसबारे सत्तारुढ दल नेकपालाई जानकारी गराईसकिएको छ, बिहीबारको बैठक चल्न सक्दैन । चल्न नदिने पार्टीको निर्देशन छ ।’ कांग्रेसले बिहीबार हुने सातै प्रदेशको प्रदेशसभा बैठक, प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ ।