१८ वर्षसम्म पनि पुनस्स्थापित भएनन् मुक्तकमैया

बर्दिया, बाँके र दाङ १२३५ मुक्तकमैयाले अझै पाएनन् जग्गा

173

नयाँ पत्रिका दैनिक- साउन ४,
बर्दिया । कमैया मुक्त घोषणा गरेको १८ वर्ष बितिसक्दासमेत मुक्तकमैया पुनस्र्थापित हुन सकेका छैनन् । १९औँ कमैया मुक्ति दिवस मनाइरहँदा कतिपय मुक्तकमैयाले परिचयपत्र, जग्गा र घर बनाउनका लागि रकमसमेत पाएका छैनन् । प्रदेश ५ का बर्दिया, बाँके र दाङमा एक हजार दुई सय ३५ मुक्तकमैयाले जग्गा पाएका छैनन् । सरकारले मुक्तकमैयालाई व्यवस्थित घर बनाउन काठ किन्नका लागि एक लाख रकम दिने व्यवस्था गरेको थियो । तर, ६ हजार पाँच सयले त्यो रकम पनि पाएका छैनन् । जग्गा दिएपछि काठ किन्न रकम दिने व्यवस्था छ ।

बर्दियामा अहिले ११ हजार आठ सय ७५ घरपरिवार मुक्तकमैया पहिचान भएका छन् । जिल्ला भूमिसुधार कार्यालयका अनुसार १० हजार ७ सय ९७ मुक्तकमैयाहरूले परिचयपत्र प्राप्त गरेका छन् । परिचयपत्र प्राप्त गरेकामध्ये १० हजार ७ सय १४ मुक्तकमैयाहरूले जग्गा प्राप्त गरेका छन् भने अझै ८३ घरपरिवार मुक्तकमैयाहरू जग्गा पाउन बाँकी रहेका छन् । जग्गा पाएकामध्ये साढे ६ हजारले काठ किन्न अनुदान पाएका छैनन् ।

मुक्तकमैया समाजका अध्यक्ष दुःखराम थारूले अहिलेसम्म सबै मुक्तकमैया पुनस्र्थापना नभएको बताए । उनले भने, ‘पुनस्र्थापना हुनु भनेको जग्गा पाउनु मात्र होइन, उनीहरूलाई शिक्षा स्वास्थ्य रोजगारको व्यवस्था गर्नुपर्दछ । कुनै न कुनै रूपमा मुक्तकमैयाहरू अझै पनि पीडित रहेका छन् ।’

जग्गा पाएकाले पनि उपभोग गर्न पाएनन्
कतिपय मुक्तकमैयाले जग्गा पाए पनि उपभोग गर्न पाएका छैनन् । गुलरिया नगरपालिका–२ की मुक्तकमैया मीना थारूले ०७२ सालमा जग्गा पाए पनि अहिलेसम्म जग्गा उपभोग गर्न नपाएको बताइन् । उनले आफ्नो नाममा जग्गाधनी प्रमाणपुर्जा भए पनि घर निर्माण गर्न नपाएको बताइन् । मुक्तकमैया संचिता चौधरीले सरकारले विवादास्पद जग्गा दिएका कारण घर बनाउन नपाएको बताइन् ।