फोहर व्यवस्थापन गर्न नसक्दा शहरका बजार दुर्गन्धित बन्दै

225

साउन ४,
काठमाडौं । महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको र रोगको संक्रमण बढ्ने देखिएको छ। बल्खु, कुलेश्वर, कालीमाटी, कलंकी, टंकेश्वर, त्रिपुरेश्वर, बानेश्वर, शान्तिनगर, बागबजारलगायत स्थानमा करीब दुई सातादेखि घरबाट दैनिक निस्कने फोहर नउठेका कारण चोकचोकमा फोहरका डुंगुर थुप्रिएको छ। चोकमा थुपारिएका फोहर सडेगलेर निस्केको दुर्गन्धबाट पैदलयात्री, बटुवालगायतलाई मात्र समस्या भएको छैन, नजिकैका सडक पसलेदेखि ठूला व्यवसायीलाई पनि खपिनसक्नुभएको छ। फोहरलाई तत्काल व्यवस्थापन गर्न नसके हैजा, टाइफाइड तथा श्वासप्रश्वाससम्बन्धी रोगको संक्रमण फैलिन सक्ने चिकित्सकले बताएका छन्।