हराउँदै मौलिक नेपाली गीत

327

– मीना घोरसाइने
साउन ५,
काठमाडौँ । “केटाहरु नबन सोझो,
फुच्ची केटीहरुले न्यू खोजो”
प्रकाश सपूतको इपिक ब्याटल दोहोरी यो गीतले अहिले नेपाली युवा पुस्तामाझ निकै चर्चा बटुलेको छ । सपूत र प्रीति आलेको गायन रहेको यो गीतमा छाडा शब्दको निकै प्रयोग भएको देखिन्छ । यस्ता खालका गीत लोकबजारमा भित्रिन थालेसँगै नेपालको लोक मौलिकपना हराउँदै गएको स्पष्ट रुपमा देखिन्छ ।
लोकसंगीतका पारखी चाबहिल निवासी २३ वर्षीया सृष्टि नेपाल पछिल्लो समयमा यस क्षेत्रमा देखिएको विकृतिका कारण लोकगीतप्रतिको आफ्नो मोह घट्दै गएको बताउनुहुन्छ । “आजभोलि बजारमा आएका गीत सुनिनसक्नुका छन् ”, नेपालको बुझाइ छ । बजारमा आएका नयाँ छाडा गीतले नेपाली पहिचान गुम्दै गएकामा उहाँले दुखेसो व्यक्त गर्नुभयो । “आजकलका गीत त सुन्न पनि छाडिसकेँ” उहाँ भन्नुहुन्छ ।

“छाडेर काम सारा, एक काम रोजिरहेछु,
यो देशमा म एउटा मानिस रोजिरहेछु ।”
गायक शिशिर योगीले गाएको यो गीत अहिले पनि निकै लोकप्रिय छ । हरेक मानिसको मुख मुखमा देशभक्तिका यस्ता गीत झुण्डिरहन्छन् । योगीको यो गीत विसं २०७० मा डिजिटल माध्यममा देखिन थालेपछि झन् चर्चामा आउन थालेको छ । यो गीतलाई युटुबमा हालसम्म करीब ६८ हजारले हेरेका छन् ।

डिजिटल प्रविधिको विकास नहुँदा विगतमा यस्ता पुराना शैलीका गीतहरु संग्रहित गर्न निकै कठिन थियो । समीक्षक राम सहयात्रीले साँच्चिकै मार्मिक शब्द अनि स्वर भएको उत्त२m गीत सुनेपछि मनमा कताकता सिरिङ्ग भएको र आफू शिशु नै पो भएको जस्तो आभास भएको बताउनुभयो । अहिले त्यस किसिमका लोक मौलिकता बोकेका गीतसंगीत थोरै मात्र बन्न थालेका छन् । अहिले देशभक्तिका भन्दा पनि प्रेमसँग जोडिएका गीत बढी सुनिन थालेका छन् । नेपाली गीतसंगीतका लागि लामो समयदेखि काम गरिरहनुभएका वरिष्ठ संगीतकार शक्तिबल्लभ भन्नुहुन्छ, “नयाँ गीतसंगीतमा जति सिर्जनात्मकता चाहिने हो, त्यो अहिले छैन,” उहाँ थप्नुहुन्छ, “गीतको भिडियो बनाउने कुरामा र शब्दको चयनमा स्रष्टाले ध्यान दिनुपर्छ ।” उहाँका अनुसार नेपाली गीतसंगीत दीर्घकालीन समयसम्म पनि छाप बस्ने खालको हुनुपर्छ । अहिलेका गायक, संगीतकार, रचनाकार र भिडियो बनाउने व्यक्तिले राष्ट्रियताको सन्देश दिनेभन्दा पनि छोटो समयका लागि मात्र निर्माण गर्ने गरेको उहाँको बुझाइ छ ।

नयाँपुस्ताले नेपालीपनलाई बढी ध्यान दिनुपर्ने र छायाङ्कनमा पहिरनमा नेपालीपन झल्कनुपर्ने उहाँ बताउनुहुन्छ । नेपाली संस्कृतिमा अहिले पाश्चात्य संस्कृति घुसेको प्रष्टै हुन्छ । प्रायःनग्नताले संगीत बिक्छ भन्ने धारणा अहिलेका निर्मातामा पाइने लोकगीतका पारखी बताउँछन् । अहिले सुन्नेभन्दा हेर्ने गीत आएको भनी अहिलेका छाडा गीतहरुप्रति नकारात्मक दृष्टिकोण बढिरहेको छ । स्वतन्त्र नेपाली गीतमा भन्दा पनि नेपाली चलचित्रमा लोकगीत घुसाउने गरेको पाइन्छ । ‘सान्नानीलाई भेट्न आउँदा रातै प¥यो बाटैमा’, ‘कुटुमा कुटु सुपारी दाना’ लगायत नेपाली चलचित्रको गीतमा नायिकाले गुन्युचोलो लगाएका छन् । तिनका दाँजोमा अचेल गाइने प्रायः लोकगीतमा उच्छृङ्खल शब्दको प्रयोग बढी छ ।