हनुमन्ते सफाइमा २० टन फोहोर संकलन

218

-सुमन केसी
साउन ५,
भक्तपुर । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २१औँ हप्ता मध्यपुरथिमिको डुबान क्षेत्र र अरनिको राजमार्ग खण्डअन्तर्गत एसएस चोकदेखि चारदोबाटो चोकसम्म सरसफाइ गरी फोहोर संकलन गरिएको छ । सूर्यविनायक नगरपालिका र प्रतिनिधिसभा सदस्य महेश बस्नेतको पहलमा भएको हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले गत असार २७ र २८ गते आएको बाढीले डुबान क्षेत्रमा ल्याएर थुपारेको फोहोर र अन्य फोहोर सफाइ गरेको थियो ।

कलाकार रवीन्द्र खड्काको प्रमुख आतिथ्यमा भएको आजको सफाइ अभियानमा २० टन फोहोर संकलन गरिएको छ । अभियानमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मी, स्थानीय नेता तथा कार्यकर्ता, माउण्ट भ्यू स्कूल र एसएस कलेजका विद्यार्थी, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि एवं अभियन्ता गरी करीब ५०० को सहभागिता थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले खोला मिचेर बनाइएका संरचना र व्यक्तिको नाममा गरिएका खोला अब सार्वजनिक जग्गाका रुपमा फर्काइने बताउनुभयो । उहाँले खोला मिच्ने प्रवृत्तिले हनुमन्तेमा बाढी आएको बताउँदै विगतमा पदको दुरुपयोग गरेर खोलाको जग्गा व्यक्तिको नाममा गरिएको पाइएकाले अब त्यस्ता जग्गालाई साविकअनुसार सार्वजनिक रुपमा नै फर्काइने उद्घोष गर्नुभयो ।