किसानले दूधको मूल्य घटाएको भन्दै आन्दोलन

169

साउन ६,
चितवन । किसानले दूधको मूल्य घटाएको भन्दै आन्दोलन जारी राखेका छन्। दुग्ध विकास संस्थान र निजी डेरीले दूधको मूल्य घटाएको आरोप लगाउँदै उनीहरूले आइतबार चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरे चोकमा २०० लिटर दूध सडकमा पोखेर विरोध प्रदर्शन गरेका छन्। किसानलाई दिंदै आएको दूधको मूल्यमा ३ रुपैयाँ घटाएको दुग्ध उत्पादन सहकारी संस्था नगर समन्वय समिति खैरहनीका अध्यक्ष मुकुन्द दवाडीको दावी छ। खैरहनीमा रहेका २४ सहकारी संस्थाका प्रतिनिधिहरूले आइतबार सांकेतिक रुपमा भन्दै सडकमा दूध पोखेर विरोध गरेका हुन्। यसअघि शुक्रबार पनि राप्ती नगरपालिकामा यसैगरी सडकमा दूध पोखेर विरोध गरेका थिए। सोमबार पनि रत्ननगरमा दूध पोखेर प्रदर्शन गर्ने चितवन जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष हरिहर सुवेदीले बताए। उनका अनुसार दुग्ध विकास संस्थान ९डिडिसी०ले दूधको गुणस्तरको आधारमा २५ प्रतिशत अतिरिक्त रकम दिने गरेको थियो। त्यो रकम संस्थानले कटौती गरेको हो। यसरी कटौती गर्दा यसको मार सहकारी हुँदै किसानलाई पर्न जान्छ। यसलाई हिसाब गर्दा करिब ३ रुपैयाँ कटौती हुने सुवेदीको भनाइ छ। राज्यले किसानलाई सहुलियत र सुविधा दिनुपर्नेमा अझै मुल्य कटौती गर्नु दुःखद् भएको भन्दै अध्यक्ष सुवेदीले तत्काल निर्णय फिर्ता लिन आग्रह गरे। मूल्य नबढाए कडा आन्दोलन गर्ने किसानको चेतावनी छ। चितवनमा व्यवसायिक रुपमा दैनिक दुई लाख ५० हजार लिटर दूध उत्पादन हुन्छ। मूल्य घटाएको छैन स् डिडिसी दुग्ध विकास संस्थानका निमित्त महाप्रबन्धक ईश्वरी न्यौपानेले दूधको मूल्य नघटाएको दावी गर्दै सरकारले दिंदै आएको अतिरिक्त मूल्य मात्रै कटौती गरेको प्रष्टोक्ति दिए। दूधको गुणस्तर हेरेर ‘टिएस’मा २५ प्रतिशत थप मूल्य दिंदै आएकोमा सोही थप मूल्य मात्रै कटौटी भएको तर तोकिएको मूल्य नघटाइएको निमित्त महाप्रबन्धक न्यौपान दावी छ। अहिले नेपालमा दूध उत्पादन बढेको र बाहिरबाट दुग्धजन्य पदार्थको आयात पनि बढेकाले उद्योगहरूले कच्चा दूध कम लिंदा चाप डिडिसीलाई परेकाले बाध्य भएर अतिरिक्त मूल्य कटौती भएको उनले बताए। न्यौपानेले अहिले सुख्खा सिजनमा समेत डिडिसीले ५० देखि ६० हजार लिटर दूध पाउडर बनाएर राख्नु परेको उल्लेख गरे। उनका अनुसार हाल नेपालमा दैनिक २१ लाख मेट्रिक टन दूध उत्पादन हुन्छ। यसको ५० प्रतिशत घरमा नै खपत हुन्छ। बाँकी रहेको दूधको ५० प्रतिशत बजारमा आउने, ३३ प्रतिशत आफैं पोका पारेर बेच्ने र आधिकारिक रुपमा नियमपालन गरेर जम्मा १५ प्रतिशत दुध बिक्री हुने गर्छ। उक लाख ५० हजार लिटर दूग्ध खपत गर्ने चितवन मिल्क बन्द भएकाले पनि समस्या बढेको संस्थानको भनाइ छ।