उपराष्ट्रपति कप प्रतियोगितामा एपिएफ र आर्मी विजयी

112

साउन ११,
काठमाडौँ । राजधानीमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फूटबल प्रतियोगितामा दुई विभागीय टोली सशस्त्र प्रहरी बल र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा एपिएफले रौतहटलाई ७–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफको यो लगातार दोस्रो जीत हो । यसअघि पहिलो खेलमा एपिएफले काठमाडौँलाई पराजित गरेको थियो ।

एपिएफको जितमा सावित्रा भण्डारी एक्लैले चार गोल गरिन भने सरु लिम्बूले दुई तथा अनिता बस्नेतले १ गोल थपिन । सावित्रा खेलको वमन अफ दी म्याच घोषित भइन् । सोही मैदानमा आजै भएको दोस्रो खेलमा आर्मीले काठमाडौँलाई ८–० ले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई १–० ले गोलअन्तरले पराजित गरेको थियो । आर्मीको जितमा दीपा राईले ह्याट्रिक गरिन् भने कृष्णा बस्नेतलले २ गोल थपिन् । त्यस्तै विमला विक, इन्दिरा राई र कविता धिमालले समान १÷१ गोल गरे ।