कविताः उस्ले बुझोस्

161

-राजकुमार लामिछाने ‘प्रिन्स’,

ओइ त को ? म को था छ ?
त को ? म को ? यो प्रश्न
कहाँ बाट आको ? तपाइहरुलाइ था छ ?
जुन जिम्मेवारी उस्ले पा छ
त्यस्मा घमण्ड को जलप लगाएर
बिबेकको घैटोमा ताला ला छ
अनि यस्तो प्रश्न दिमागमा आ छ ।

उ आफ्नो सन्तानको लागि बाउ होला
ॠणिको लागि साहु होला
तर उ मेरो जन्मदाता
भाग्यबिधाता बिल्कुल हैन
उस्लाइ देख्नासाथ झुक्नुपर्ने
सन्सारी सर्वज्ञाता बिल्कुल
उम्हु बिल्कुल उ हैन
त्यसैले उस्ले बुझोस
उस्ले जानोस या नजानोस
मेरो कुरा मानोस या नमानोस
उस्को अघि शिर निहुराउन
मेरो मनले भन्नुपर्छ
उ त्यस्को लायक
आफ्नै कर्मले बन्नुपर्छ ।

हैन के को घमण्ड उस्लाइ
त्यो पदको ?
पद त सिर्फ एक जिम्मेवारि हो
सम्मान त मिल्छ त उस्लाइ
त्यो उच्च कदको
जो आडम्बरले फुलेर
पावरको पिङमा झुलेर
भुइँमा खुट्टा नटेकी
अरुलाइ मान्छेसम्म नदेखी
आउँछ र आफ्नो गीत आफै गाउछ ।

ए बाबा,
उस्ले कसरी सम्मान पाउछ ?
त्यसैले उस्ले बुझोस
उस्ले आफै जानोस या नजानोस
मेरो कुरा मानोस या नमानोस
उस्को अघि शिर निहुराउन
मेरो मनले भन्नुपर्छ
उ त्यस्को लागि काबिल
आफ्नै कर्मले बन्नुपर्छ ।

उस्ले बुझोस पद सिर्फ काम हो
काम आज भए भोलि नहुन सक्छ
अमर रहने त नाम हो
कुन अक्षरले लेख्ने
स्वर्ण या कालो ?
कहाँ लेख्ने
कार्यलयका किताबखानामा
या मानिसहरुका दिलका पानामा ?
त्यो के मा भर पर्छ
कहाँ कसरी जन्म्यो के थियो हैन
उ के गरेर मर्छ
त्यस्मा भर पर्छ
उस्ले के लायो के खायो कति तक्मा फुलि पायो
त्यस्मा हैन
उस्ले दुनियालाइ कति गुण लायो
त्यस्मा भर पर्छ
त्यसैले उस्ले बुझोस
उस्ले आफै जानोस या नजानोस्
मेरो कुरा मानोस या नमानोस्
उस्को अघि शिर निहुराउन
मेरो मनले भन्नुपर्छ
उ त्यस्को लागि काबिल
आफ्नै कर्मले बन्नुपर्छ ।
                                                               -तेलकोट, भक्तपुर ।