जंगली जनावरले बाली नष्ट गर्न थालेपछि किसान चिन्तित

257

साउन १९,
बैतडी । जंगली जनावरले बाली नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन्। जिल्लाका अधिकांश ठाउँमा मकैबाली जोगाउन किसानहरुलाई धौधौ परेको छ। जंगली बदेँल, बाँदर र दुम्सीले बैतडीका विभिन्न ठाउँमा समस्या उत्पन्न गरेका हुन्। दिउँसोमा बँदेल, बाँदर र राति दुम्सी तथा जंगली बँदेलका कारण किसानहरूलाई मकैबाली जोगाउन सकस परेको हो। मुख्य खाद्यबालीका रूपमा रहेको मकै लगातार जंगली जनावरहरुले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका छन्। जिल्लाको सिगास गाउँपालिका–५ को कफटुडामा बर्खेबाली मकै दुम्सीले सखाप पारेको स्थानीय भानबहादुर बोहराले बताए। मकैको घोका लाग्ने लागेको बेला जंगली जनावरले मकैबाली नष्ट गर्न थालेपछि किसान चिन्तामा परेको उनको भनाई रहेको छ। दुम्सीले लगातार रुपमा केही दिनदेखि मकैबाली नष्ट गर्न थालेपछि दुम्सीलाई कसरी नियन्त्रण गर्ने भनेर किसानलाई पिरोलेको छ । राति पहरा दि एपनि मकैबाली जोगाउन मुस्किल भएको सुर्नया गाउँपालिका–६ का भवानीदत्त अवस्थीले बताए। टहरा बनाएर राति पहरा दिए पनि मकैबाली जोगाउन नसकिएको सुर्नया गाउँपालिका ४ का कालु चन्दले बताए। जिल्लाका सबैजसो क्षेत्रमा मकैबाली जंगली बँदेलले नष्ट गर्न थालेको किसानहरूले बताए।