सुर्खेतमा तलब नपाउँदा शिक्षक आन्दोलित

289

साउन १९,
सुर्खेत । चौमासिकको तलब बेलैमा नपाउँदा तिला गाउँपालिका जुम्लाका शिक्षकहरु आन्दोलित भएका छन् ।
साउन महिना बित्न लाग्दा पनि तलब उपलब्ध नगराएको भन्दै उनीहरुले गाउँपालिकालाई तलब खुवाउन दबाब दिँदै आएका छन् । गाउँपालिकामा कार्यरत शिक्षकले पूरै तलब नपाएपछि आफूहरुले आन्दोलन गर्नु परेको शिक्षक हित संघर्ष समिति जुम्लाका अध्यक्ष मानबहादुर शाहीले जानकारी दिनुभयो । शिक्षकहरुको तलब मात्र नभएर पोशाक, पाठ्यपुस्तकलगायत अन्य नियमित शीर्षकमा आउने रकम प्राप्त हुन सकेको छैन । गाउँपालिकाले तलब खुवाउँछु भनेर हामीलाई टार्ने काम ग¥यो,” समितिका अध्यक्ष शाहीले भन्नुभयो । गाउँपालिकाले दिएको वचनअनुसार शिक्षकलाई तलब खुवाउन नसकेको उहाँको आरोप थियो ।

तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले यहाँ कार्यरत सम्पूर्ण शिक्षकको रकम माग गत वर्षको असोजमै गरिए पनि अहिलेसम्म उनीहरुले पूर्ण तलब नपाउनुमा स्थानीय सरकारको नभई संघीय सरकारको कमजोरी रहेको औँल्याउनुभयो । दुई चौमासिकको तलब शिक्षकहरुले खाइसकेको र यो चौमासिकको मात्र १६ प्रतिशत रकम दिन बाँकी रहेको अध्यक्ष योगीले जनाउनुभयो । “शिक्षकका लागि रु २८ लाख र बाँकी छात्रवृत्ति, पाठ्यपुस्तक, पोशाक लगायतका शीर्षक गरी रु ५८ लाख रकम अपुग छ । उनीहरुको यही समस्यालाई बुझेर मैले केन्द्रमा रकम निकासाको पहल गरिरहेको छु उहाँहरु छिट्टै पाउनुहुन्छ,” अध्यक्ष योगीले भन्नुभयो ।

शिक्षकहरुले पूरै तलब नपाउनुमा गाउँपालिकाको कमजोरी नभई संघीय सरकारको कमजोरी रहेको बताउँदै उहाँले ढिलो चाँडो समस्या समाधान गर्ने वचन दिँदै आएको प्रतिक्रिया दिनुभयो । उहाँले थप्नुभयो, “शिक्षकहरुको आन्दोलनको कुनै औचित्य छैन, त्यसो गरेर फाइदा पनि छैन । तलब पाउन ढिलो भए पनि कदापि रोकिँदैन ।” त्यति मात्र नभई स्वास्थ्यकर्मीहरुको पनि विभिन्न सेवासुविधाअन्तर्गत रु ५२ लाख रकम अझै अपुग रहेको उहाँको भनाइ छ । तिला गाउँपालिकाका स्रोतव्यक्ति लोकप्रसाद चौलागाईंका अनुसार हाल उक्त गाउँपालिकाका आधारभूत र मावि तहमा गरी ११९ जना शिक्षक कार्यरत छन् ।