आणविक निरस्त्रीकरणप्रतिको प्रतिबद्धता पूरा गर्न १७ राष्ट्रको आग्रह

92

साउन २१,
सिओल । दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको संगठन आसियान र अन्य १७ राष्ट्रका विदेश मन्त्रीहरुले उत्तर कोरियालाई आणविक निरस्त्रीकरणप्रतिको प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् । सिंगापुरमा सम्पन्न आसियान क्षेत्रीय मञ्च एआरएफ० का विदेश मन्त्रीहरुको सम्मेलन पश्चात सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘आणविक निशस्त्र कोरियाली प्रायःद्वीप स्थापना गरी दिगो शान्ति र स्थायित्व ल्याउन सबै सम्बद्ध पक्षले निरन्तर कार्य गर्नुपर्दछ ।’ ‘विदेश मन्त्रीहरुले उत्तर कोरियालाई आफ्नो आणविक निःशस्त्रीकरणप्रतिको प्रतिबद्धता पूरा गर्न एवं थप आणविक र क्षेप्यास्त्र परीक्षणका कार्य नगर्न आग्रह गरेका छन्,’ विज्ञप्तिमा थप भनिएको छ । वक्तव्यमा मन्त्रीहरुले अप्रिल र मे महिनामा दुई कोरियाको सीमावर्ती पानमुनजोङमा उत्तर र दक्षिण कोरियाका नेताहरुको शिखर बैठक तथा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप र उत्तर कोरियाली नेता कीम जोङ उनबीच भएको शिखर बैठकको स्वागत गरेका छन् । ती शिखर सम्मेलनमा उत्तर कोरियाली नेता कीमले कोरियाली द्वीपमा पूर्ण आणविक निरस्त्रीकरणप्रति प्रतिबद्धता जनाएका छन् । यसलाई घटनालाई सकारात्मक सन्देशका रुपमा लिइएको थियो, तर त्यसको कार्यान्वयन कहिले र कसरी हुन्छ भन्नेमा स्पष्ट थिएन ।