भक्तपुरमा बाढीले बगाएर अवस्थामा भेटियो श्रेष्ठको शव

73

साउन २१,
भक्तपुर– विगत २४ घण्टादेखि परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले आज एक किशोरको शव बगाएर ल्याएको अवस्थामा भेटिएको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका थली घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा बाबुआमासँग टहरामा बस्दै आएका १७ वर्षीय राजेश श्रेष्ठको शव आज करिब ११ बजे भक्तपुर नगरपालिका–१ सल्लाघारी इवामुरा मेमोरियल अस्पतालअगाडि रूखमा अड्किएको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ । अनुसन्धानका क्रममा आइतबार दिउँसो साथीकहाँ जान्छु भनेर निस्किएका श्रेष्ठ घर नफर्किएको र आज खोलाले बगाएको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुर मुद्दा शाखाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।