जब गरिब बृद्धले पत्नीको शव दाहसंस्कार गर्न मलामी पाएनन्

119

साउन २१,
एजेन्सी– भारतको उडिसा राज्यको एउटा गाउँमा एकजना गरिब किसानले आफ्नी मृत श्रीमतीको शव दाहसंस्कार गर्न समेत मलामी पाएनन् । तल्लो जातकी महिला विवाह गरेको आरोप खेप्दै आएका उडिसास्थित बौद्ध जिल्लाको कृष्णपाली गाउँका ६० वर्षीय चतुरभुजा बाँकाले आफ्नी मृत पत्नीको दाहसंस्कारका बेला मलामी समेत नपाएका हुन् । घटना गत बिहिबार अर्थात अगष्ट २ को हो । बाँकाले ४० वर्षीय पत्नी पञ्चा महाकुडलाई लगातार पखाला लागेपछि स्थानीय अस्पतालमा भर्ना गरे । त्यसको लगत्तै उनको अस्पतालमै मृत्यु भयो । आर्थिक रुपमा अत्यन्तै कमजोर रहेका चतुरभुजाकी पत्नीको शव राज्यसरकार र अस्पतालको सहयोगमा उपलव्ध गराइएको शववाहनमार्फत गाउँमा पुर्याइएको थियो ।

शव गाउँमा पुर्याइए पनि आफ्ना छिमेकीहरुले चतुरभुजालाई वास्ता गरेनन् । आफ्नी प्यारी पत्नीको लास उठाउन कसैले पनि सहयोग नगरेपछि उनले आफ्नै साइकलमा शव राखेर मशानघाट पुर्याएर दाहसंस्कार गरे । उनले पत्नीको शव साईकलमा राखेर डोर्याइरहेको तस्वीर अहिले सामाजिक सञ्जाल र मिडियाहरुमा संसारभर भाइरल भइरहेको छ । पत्नीको शव लिएर मसानघाट जाँदा मलामी नपाएका उनलाई रेडक्रस र स्थानीय सरकारले काजक्रियाका लागि भने १२ हजार रुपैयाँ सहयोग गरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

अहिले सो घटनालाई लिएर उडिसा राज्यमा राजनीतिक रुपमा समेत चर्को बहस चलिरहेको छ । उडिसा राज्यमा विपक्षी दलको रुपमा रहेको भाजपाले बीजेडीको नेतृत्वमा रहेको सरकारलाई गरिबहरुप्रति अक्षम, निस्क्रिय र असंवेदनशील भएको भन्दै चर्को आलोचना गरिरहेको छ । यसअघि भारतमै दाना माझी नामका एकजना आदिवासी गरिब पुरुषले अस्पतालबाट आफ्नी विरामी पत्नीलाई लैजान एम्बुलेन्स नपाएर १० किलोमिटर पैदल हिडेको तस्विर संसारभर भाइरल भएको थियो । तीनवर्ष अघिको सो तस्विरले पनि भारतीय समाजको चरित्र उदांगो बनाएको थियो । -रातोपाटी