मकै पोल्नेलाई र भैँसी बेच्नेलाई कर

85

साउन ३०,
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारमा मकै पोलेर बेच्नेसँग दिनको ४५ रुपैयाँ कर उठाउन थालेको छ । यसैगरी, हाँस, कुखुरा र परेवामा प्रतिगोटा १६ रुपैयाँसम्म कर तोकेको छ । खुद्रा तरकारी व्यापारीलाई वार्षिक १२ सय र ठेलामा फलफूल बिक्री गर्नेलाई १५ सय कर तोकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका किसानले भैँसी बेच्दा एक हजार कर तिर्नुपर्ने भएको छ । खसी बेच्नेले डेढ सय कर बुझाउनुपर्छ । नगरपालिकाले पशु करलगायत विभिन्न शीर्षकमा ४५ प्रकारका कर लगाएको छ ।

मेहदी लगाउनेलाई दैनिक कर
मोरङको बुढीगंगा गाउँपालिकामा हजामले दैनिक २० रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरिएको छ । चनाचटपटे बेच्नेले ३० रुपैयाँ, मेहदी लगाउनेले १० रुपैयाँ तथा चटक देखाउनेलाई २० रुपैयाँ कर तोकिएको छ । कटहरी गाउँपालिकामा चिया बेच्नेले वार्षिक ११ सय कर तिर्नुपर्ने भएको छ ।

घरको तलाअनुसार कर
यसअघि घरजग्गा मूल्यांकनका आधारमा एकीकृत सम्पत्ति कर तिर्दै आएका दाङको घोराही उपमहानगरपालिकाका नागरिकलाई अब घर र घर बनेको जग्गाको छुट्टाछुट्टै कर लागेको छ । प्रतिवर्गफिट डेढदेखि चार रुपैयाँसम्म सम्पत्ति कर कायम गरिएको छ । र, जग्गाको पनि प्रतिवर्गफिट चार रुपैयाँ बेग्लै तिर्नुपर्छ । बजार क्षेत्रमा एक तला घरको करिब आठ हजार रुपैयाँ वार्षिक सम्पत्ति कर पर्न आउँछ ।
घरको तला थपिए वर्गफिटअनुसार कर थपिँदै जान्छ । तुलसीपुर उपमहानगरपालिकामा पनि घर र जग्गाको छुट्टाछुट्टै कर छ । तर, घरका कोठाअनुसार कर तिर्नुपर्ने नियम बनाइएको छ ।

विद्यार्थीलाई फोहोर कर
बुटवल उपमहानगरपालिकाले घरबेटीसँग मात्रै होइन, भाडामा बस्ने विद्यार्थीसँग पनि फोहोर कर असुल्न थालेको छ । विगतमा एक घरबाट मासिक सय रुपैयाँ उठाउँदै आएकोमा यसपटकदेखि प्रतिभान्सा पचास रुपैयाँ लिन थालेको छ । विद्यार्थीका लागि भने २५ रुपैयाँ तोकिएको छ ।

घाटा लागेको व्यवसाय बन्द गर्न कर
मोरङको विराटनगर महानगरपालिकाले व्यवसाय बन्द भएको सिफारिसका लागि १० हजार कर तोकेको छ । व्यवसाय दर्ता गर्न भने ५ सय शुल्क तोकिएको छ । यस्तै, बिजुली तथा टेलिफोन सिफारिसको पनि ५ सय रुपैयाँ दस्तुर तोकिएको छ ।

आफ्नै बारीको रुख काट्दा दुई सय कर
पाँचथरको कुम्मायक गाउँपालिकाले नागरिकलाई आफ्नै बारीको रुख काट्दा प्रतिरुख दुई सयका दरले कर तोकेको छ । गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत कमल भटराईले रुख काट्न निरुत्साहित गर्न यस्तो नियम राखिएको बताए ।

डिजेल–पेट्रोलमा कर
इलाम नगरपालिकाले पेट्रोल र डिजेलमा ५० पैसा प्रतिलिटरका दरले प्रदूषण कर लिन सुरु गरेको छ । नगर सभाबाट डिजेल र पेट्रोलमा एक रुपैयाँ कर लगाउने निर्णय गरेको भए पनि पहिलो वर्ष ५० पैसा मात्रै कर लिइएको नगर प्रमुख महेश बस्नेतले बताए ।

क्यारेमबोर्ड खेलाउनेलाई कर, मासु बेच्नेलाई कर
मोरङका स्थानीय तहले गल्लीका पसल–पसलमा कर तोकेका छन् । मिक्लाजुङ गाउँपालिकामा क्यारेमबोर्ड खेलाउने पसलले वार्षिक एक हजार कर तिर्नुपर्ने भएको छ ।
ग्रामथान गाउँपालिले हाटबजारमा खसी र सुँगुर काटेर बेच्नेलाई प्रतिदिन तीन सय र कुखुरा बेच्नेलाई एक सय कर तोकेको छ ।