गत शुक्रबार ४ चलचित्र हलमा

209

भाद्र १,
काठमाडौं । गत शुक्रबार प्रदर्शनमा आएका तीन चलचित्र ‘कहिँ कतै’, ‘टिनएज’ र ‘पिरिम पर्या छन्’ ले व्यावसायिक लाभ उठाउन नसकेको तितो यर्थात सबैका सामु हुँदाहुँदै पनि आज शुक्रबार एकसाथ ४ चलचित्र प्रदर्शनमा आएका छन् ।

चलचित्र हुन् ‘जय शम्भु’, ‘ब्ल्याक’, ‘१२मासे’ र ‘मिस्टर भर्जिन’ । यी सबै चलचित्र फ्राइडे रिलिज अन्तर्गत एकसाथ प्रदर्शनमा आएका हुन् । चार चलचित्र मध्य ‘जय शम्भु’ र ‘ब्ल्याक’को राम्रो प्रचार प्रसार भएको छ भने ‘१२ मासे’ र ‘मिष्टर भर्जिन’ प्रचार प्रसारमा त्यति देखिएका छैनन् ।

‘जय शम्भु’
‘जय शम्भु’ स्टार कलाकारले भरिएको चलचित्र हो । एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्रमा प्रशान्त ताम्राकार, अनुप विक्रम शाही, बर्षा सिवाकोटी, रोशन महर्जन, करुणा पाण्डे, रश्मी भट्ट, बसन्त भट्ट, राजकुमार थापा, कालु राना आदीको मुख्य भूमिका देख्न सकिन्छ । दिनेश शाही प्रस्तुतकर्ता रहेको ‘जय शम्भु’मा अरविन्द्रमान शाक्य निर्माताको रुपमा रहेका छन् । चक्र पाख्रिन कार्यकारी निर्माताको रुपमा रहेको चिलचित्रको सह–निर्माता कुशल शर्मा र शिक्षा काफ्ले हुन् । रुपेश तामाङले निर्देशन गरेको चलचित्रमा हरि घले लामाको छायाँकन, श्री श्रेष्ठको एक्शन, टंक बुढाथोकीको संगीत, बनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य छ । चलचित्रले देशभर राम्रो व्यावसाय गर्ने निर्माता दिनश शाहीले दाबी गरे ।

‘ब्ल्याक’
आकाश श्रेष्ठ र आँचल शर्माको मुख्य भूमिका रहेको यो चलचित्र देशभर प्रदर्शनमा आएको हो । चलचित्र भित्र आकाश र आँचलको प्रेममा अभिनेता आयुष भिलेन बनेका छन् । प्रदीप श्रेष्ठको निर्देशन रहेको चलचित्रले प्रेम कथा विषय कथा बनाएको छ । प्रेममा आउने उतारचढाव, त्याग, लफडा र मिलनको कथा नै यसको बिषयवस्तु भएको निर्देशक श्रेष्ठले बताए । आँचल, आकाश र आयुषको अलवा धिरेन शाक्य, सुन्दर श्रेष्ठ, सुशील श्रेत्री, प्रिया रिजाल लगायका कलाकारको समेत चलचित्रमा मुख्य भुमिका छ ।

‘१२ मासे’
कमेडी बिषयमा बनेको यो चलचित्र लय संग्रौलाले निर्देशन गरेका हुन् । जुवा तासमा बरालिने युवा र बृद्धको कथामा निर्माण भएको ‘१२ मासे’मा जय किशन बस्नेत, पुजना प्रधान, मरिचमान श्रेष्ठ, प्रदीप पाठक, सोनिका बास्तोला, शबनम दाहाल, राधा श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । अर्जुन पोखरेल र कल्याण सिंहको संगीत, बासु न्यौपानेको छायाँकन र अनन्त घिमिरेको सम्पादनमा चलचित्र तयार भएको हो । प्रचार प्रचार खासै नदेखिएका यो चलचित्र केही हलमा मात्र लाग्नेछ ।

‘मिस्टर भर्जिन’
गौरव पहारी, कमलमणि नेपाल, मरिश्का पोख्रेल, रविन्द्र झा, सिर्जना सुब्बा लगायत कलाकारको अभिनय रहेको ‘मिष्टर भर्जिन’ वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको हो । प्रचार प्रसार खासै नगरेको यो चलचित्र विशारद बस्नेतले निर्देशन गरेका हुन् ।