सत्ययुग बोलाउँदै गुरुकुल

63

भदौ ३,
काठमाडौँ । नेपाली समाजमा जुन विषय पढेको हो, त्यही अनुसार नै रोजगारी गर्नुपर्छ भन्ने धारणालाई चिर्दै रामेछापका रामचन्द्र तिमल्सिनाले आफूले सिकेको ज्ञान अरुलाई पनि बाँड्नुपर्छ भन्ने उद्देश्यले काभ्रेपलाञ्चोक, सुनकोशी किनारमा कौशिकी वैदिक गुरुकुल सञ्चालन गर्दै आएका छन् । वि।सं २०३४ मा बुवा ऋषिप्रसाद र आमा सुभद्राबाट जेठो सुपुत्रका रुपमा रामेछाप, लखनपुर गाविस २ स्थित सल्लेनीमा जन्मिएका तिमल्सिना वि।सं २०४४ मा काठमाडौँको गौरीघाटस्थित सोम सरला वेदविद्याश्रममा भर्ना भए । शुरुमा बुवाको इच्छाबाट वेदको पठनपाठन शुरु गरे पनि पछि यसमा नै उनको रुचि बढ्दै गयो । ‘पण्डित परिवारमा जन्मेकाले बुवाको चाहना छोरालाई वेद पढाएर आफ्नो काम सम्हालोस् भन्ने नै थियो’, तिमल्सिनाले भने । सोही विद्याश्रममा दुई वर्षको अध्ययनपछि तिमल्सिनाले काठमाडौँकै गौशालास्थित वेद विद्याश्रममा २०४६ मा भर्ना भई अध्ययनलाई निरन्तरता दिन थाले । तीक्ष्ण दिमागका उनले सधैं प्रथम स्थान हासिल गर्दै वि।सं २०५२ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरे । भाइबहिनी सानै भएकाले अध्ययन गर्दागर्दै पारिवारिक समस्याले पनि सताउन थालेपछि परिवारको दवावमा उनले २०५२ मा विवाह गरे। ‘विवाह गरे मात्र पढाइलाई निरन्तरता दिन पाउने’ भन्ने उनको परिवारको भनाइ थियो । विवाहपछि पढाइलाई निरन्तरता दिन थालिएको बताउँदै उनी थप्छन्, ‘मानिसमा अन्तरइच्छा छ भने केहीले पनि रोक्दैन ।’ उनको १७ वर्षकै उमेरमा विवाह भएको थियो । उनले २०५३ सालमा उत्तरमध्यमा ९कक्षा १२०, २०५६ सालमा शास्त्री ९स्नातक० र २०६८ सालमा आचार्य तहको शिक्षा वाल्मीकि विद्यापीठबाट पूरा गरेका छन् । तिमल्सिना गाउँकै पहिलो वेदसम्बन्धी अध्ययन गर्ने विद्यार्थी रहेका थिए । उक्त समयमा कुनै पनि पण्डितले वेदसम्बन्धी अध्ययन गरेर पण्डित्याइँ गर्ने चलन थिएन । उनीपछि नै त्यहाँका अन्यले पनि वेद पढ्न थालेका थिए । उनले अध्ययन पूरा गरिसकेपछि समाजमा वेदको ज्ञान बाँड्नुपर्छ भन्ने अनुभूति हुन थाल्यो । त्यसका लागि वेद आश्रम खोल्ने सोचाइ उहाँमा आयो । संस्कृत भाषा र वेद निकै पुराना हुन् । वेदमा वैज्ञानिक आधार पनि छ । वेदमा उल्लेख भएअनुसार जडीबुटीबाट बनाइएको आयुर्वेदिक औषधि अहिलेका रसायन मिसाइएका औषधिभन्दा प्रभावकारी मानिन्छ ।परापूर्वककालमा विभिन्न ऋषिमुनिले आफ्नो आश्रममा विद्यार्थीलाई राखी वेद शिक्षा दिन शुरु भएदेखि नै शिक्षा प्रणालीको थालनी भएको मानिन्छ । अहिलेको आधुनिक शिक्षाभन्दा त्यतिबेला अध्ययन गरेको शिक्षालाई समाजले बढी मान्यता दिने गरेको थियो । अहिले विभिन्न विद्यालय तथा विश्वविद्यालयले दिने शिक्षा प्रणाली समाजमा राम्रो प्रतिफल दिने भन्दा पनि जागिर खानका लागि मात्र भएको अनुभव उनको छ । वेदमा नैतिक शिक्षालाई निकै महत्वपूर्ण रुपमा लिने गरिन्छ । समाजमा नैतिक शिक्षा र प्राकृतिक सम्पदाको बचाउका लागि वेदले अग्रणी भूमिका खेल्ने मान्यताका साथ उनले वेद विद्याश्रम सञ्चालनका लागि उपयुक्त स्थानको खोजी गर्दै गए । काभ्रे, भुम्लु गाउँपालिका–६, आँपटार भन्ने ठाउँ आफ्ना लागि उपयुक्त रहेको पत्ता लाग्यो । पछि वैदिक अनुसन्धान समिति, नेपालका नामबाट २०७२ सालमा दर्ता भई एउटा कार्यसमिति समेत बन्यो । त्यसमा तिमल्सिना स्वयं संस्थापक अध्यक्ष, उपाध्यक्षमा विष्णुप्रसाद पोखरेल, सचिवमा केशव कोइराला र कोषाध्यक्षमा विजया कँडेल चयन भए । समिति दर्तापछि उनले पाँच रोपनी जग्गा खरीद गरी त्यहीँ सप्ताह लगाएर संकलित रु तीन लाखबाट बटुकहरुलाई अध्ययन गराउन भवन निर्माण गराए । आश्रमका लागि आफूले रु १६ लाख लगानी गरी अन्यबाट आएको रकमबाट आश्रम सञ्चालन भएको तिमल्सिनाको भनाइ छ । हाल उक्त आश्रममा सात विद्यार्थीले निःशुल्क रुपमा अध्ययन गरिरहेका छन् । उहाँले आगामी दशैं अगावै नयाँ भवनको निर्माणका लागि काम थालिसकेका छन् । वेद अन्य विषयजस्तो अध्ययन गर्न सजिलो हुँदैन । यसको अध्ययनका लागि तीक्ष्ण दिमागको पनि आवश्यकता पर्छ । त्यसका लागि सात्विक भोजनले महत्वपूर्ण भूमिका खेल्छ । आश्रममा एक गोठ बनेको छ र त्यहाँ बस्ने विद्यार्थीका लागि एउटा गाई पालिएको छ । आफैंँले उत्पादन गरेको खाद्य पदार्थबाट विद्यार्थीलाई खुवाउने उद्देश्य भए पनि जमीनको अभावका कारण बाहिरबाट किनेर नै खुवाइएको छ । आश्रमले खाली भएको सरकारी जग्गामा खेतीपाती गर्नका लागि भुम्लु गाउँपालिकासँग कुरा अगाडि बढाइरहेको छ । वेद विद्याश्रमका लागि सरकारले सहयोग गर्ने हो भने सामाजिक समस्याको अन्त्यका लागि पनि बाटो खुल्ने उनले बताए । ‘नयाँ नयाँ प्रविधिको कारण पनि समाजमा विकृति झनै बढेको छ’, उनी थप्छन्– ‘प्रविधिबाट छुट्कारा दिलाएर वेदसम्बन्धी ज्ञानको विकास गराउन सके मानिसले त्यसैबाट आनन्द लिन थाल्छ ।’ उक्त आश्रमलाई भविष्यमा खुला वेद सङ्ग्रहालयका रुपमा चिनाउने लक्ष्य आश्रमले लिएको छ । आश्रम गुरुकुल पाठ्यक्रममा अंग्रेजी र गणित विषय पनि राखिने योजना छ ।हाल नेपालमा एक सयभन्दा बढी गुरुकुल सञ्चालनमा भए पनि जडीबुटी विषय अध्ययन गर्ने उद्देश्यबाट सञ्चालन भएको यो पहिलो गुरुकुल भएको जिकिर गरिएको छ । गाईको संरक्षणको थालनी, ऋषिखेती ९जैविक खेती प्रणाली०, योग, ध्यान, वेदान्त चिन्तनस्थल एवम यज्ञशाला निर्माण, वेदका माध्यमबाट चरित्रवान् समाजको निर्माण आश्रमको प्रमुख विशेषता हो । आश्रमले सत्य युगको परिकल्पनासमेत गरेको छ ।