पर्यटकको संख्या बढाउन धेरै विषयमा ध्यान दिन जरुरी

151

दामोदर दंगाल
भदौं ४,
भक्तपुर । नेपाल सरकारले सन् २०२० सम्म २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ योजना अघि सारी रहँदा पर्यटन क्षेत्रका सरोकारवाला ब्यक्तिहरुले धेरै कुरामा ध्यान दिन सके पर्यटक बढाउन सक्ने धारणा राखेका छन् ।
उनहिरुले पर्यटकलाई सेवा,सुबिधा र सुरक्षा प्रदान गर्न सके पर्यटकको संख्या बढाउन सकिने बताएका छन् ।
पर्यटक प्रहरी ईकाई, भृकुटीमण्डपको आयोजनामा भक्तपुरमा आयोजित सरोकारवाला निकायहरुबीचको अन्तरकृयात्मक अभिमुखीकरण कार्यक्रमका बत्ताहरुले आन्तरीक तथा बाह्य पर्यटकलाई सुरक्षित र सहज वातावरण सृजना गरी दिगो पर्यटन विकासमा सबै लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पर्यटन क्षेत्रमा क्रियाशिल पर्यटन व्यवसायी, स्थानीय प्रहरी लगायत पर्यटनसंग सम्बद्ध प्रतिनिधि,स्थानीय तह र संचारकर्मी सबैको समन्वय र सहकार्यले मात्र पर्यटन क्षेत्रको बिकास हुने बताउनुभयो । भक्तपुरमा आउने पर्यटकहरुको बढ्दो चापलाई मध्यनजर गर्दै पर्यटकहरुको सेवा, सुविधा र सुरक्षाका विविध विषयमा सबैले चासो र चिन्ता राख्नुपर्नेमा जोड दिंदै प्रमुख प्रजातिले पर्यटकलाई राम्रो ब्यबहार गर्न सके उनीहरु फेरी पनि घुम्न आउने धारणा राख्नुभयो ।

पर्यटकले मौलिकता र भिन्न चिज हेर्न खोज्ने भएकाले हामीले मौलिक कला,सम्पदा,संस्कतिलाई जोगाएर राख्नुपर्ने बताउँदै भक्तपुर नगरपालिकाले मौलिकतातर्फ बिशेष जोड दिएको उल्लेख गर्नुभयो । नगरपालिकाले पर्यटकको बसाई लम्ब्याउन रात्रीकालिन मौलिक सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरिरहेको बताउँदै पर्यटकलाई राम्रो ब्यबहार गर्नका लागि पर्यटक पथप्रदर्शकलाई तालिम दिईरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख, प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले नेपाल प्रहरी पर्यटकको सुरक्षाका लागि सँधै तयार रहेको बताउँदै सरोकारवाला सबैले आआफ्नो क्षेत्रबाट कर्तब्य र जिम्मेवारी पालना गर्न सके पर्यटन क्षेत्र सुरक्षित हुने उल्लेख गर्नुभयो । बिश्वका दश अग्ला हिमाल मध्य ८ वटा हिमाल, दश बिश्व सम्पदा ,बिश्वका २ प्रतिशत फूल,४ प्रतिशत स्तनधारी प्राणी,३ सय १९ जातका बिचित्रका फूल लगायत विविध सम्पदा नेपालमै रहेको सन्दर्भमा नेपालले १० बर्षभित्र एक करोड बिदेशी पर्यटक नेपाल भित्र्याएर पर्यटन ब्यबसायलाई उद्योगको रुपमा स्थापित गरी देशलाई आर्थिक समृद्धि बिकास र रोजगारी तर्फ डोर्याउनुपर्ने सरोकारवालाको भनाई रहेको छ ।