समयमा नै होला त अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ कालोपत्रे

107

भदौं ५,
काठमाडौँ । सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मत गर्ने भएको छ । लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कदा पटक–पटक समस्या परेपछि सरकारले पूर्णरुपमा मर्मत गर्ने योजना बनाएको हो । मर्मतका लागि दैनिक १० घण्टा विमानस्थल बन्द गर्ने तयारी गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मर्मत गर्न आवश्यक प्रक्रियासमेत शुुरु गरिसकेको छ ।

देशकै ऐनाका रुपमा रहेको संवेदनशील मानिने अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम उच्च प्राथमिकतामा परेको हो । पर्यटनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थलको धावनमार्ग एक वर्षभित्र पूर्णरुपमा मर्मत (कालोपत्रे) गर्ने कार्य एक नम्बर प्राथमिकतामा राखिएको बताएका छन् । सो विमानस्थल सँगैसँगै निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एक वर्षभित्र पूर्णरुपमा सञ्चालनमा ल्याउने योजना पनि प्राथमिकतामा रहेको उनको भनाइ छ ।