चाँगुनारायण नगरपालिकाको पूर्ण सरसफाई रणनीतिक योजना सार्वजनिक

170

-हेमराज ढकाल
भक्तपुर । चाँगुनारायण नगरपालिकाले पूर्ण सरसफाई रणनीतिक योजना २०७५ सार्वजनिक गरेको छ । विहिबार चाँगुनारायण नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रतिनिधीसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले योजनाको पुस्तक सार्वजनिक गर्नुभएको हो । भक्तपुरमा इँटा भट्टाले व्यापक रुपमा वातावरण प्रदुषण गरिरहेको बताउँदै उहाँले भक्तपुरमा स्मार्ट सिटी र अन्तर्राष्ट्रिय रंगशाला बनाउँन खोज्दा बिकास विरोधी तत्वहरुले अबरोध गर्न खोजेको बताउनुभयो । उहाँले भन्नुभयो–“भक्तपुर कसैको पेवा होईन, कसैले दाईजो ल्याएको जिल्ला पनि होईन, खबरदार भक्तपुरको विकास अब कसैले रोक्न सक्दैन, भक्तपुरको विकास अब हुन्छ, रंगशाला पनि बन्छ ।” भक्तपुरको एक लाख रोपनीमा स्मार्ट सिटी बनाउँने, जग्गा एकीकरण गरि सार्वजनिक जग्गालाई एकै ठाउँमा ल्याएर एक हजार रोपनीमा रंगशाला बनाउने बताउँदै १६ करोडको लागतमा डिपिआर बनाएर काम सुरु भएको बताउनुभयो ।

कार्यक्रममा ३ नं. प्रदेशका प्रदेश सदस्यहरु डा. राजेन्द्रमान श्रेष्ठ, शशीजंग थापा र सरस्वती बाटीले संघियता असफल पार्ने तत्व सक्रिय भएको बताउँदै करको नाममा भ्रम फैलाउँदै फेरी सरकार माथि प्रहार गर्न विरोधी सक्रिय रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेकपाका जिल्ला अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा लगायतले विकासलाई कसैले अबरोध गर्न नहुने बताउँदै भक्तपुरको विकासमा भक्तपुर नगरपालिका बाहेक अरु तीन नगरपालिका एक भएर अगाडि बढेको बताउनुभयो । कार्यक्रमका सभापति एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले ०७८ पुस महिना भित्र चाँगुनारायणलाई पूर्ण सरसफाईयुक्त नगरपालिका घोषणा गर्ने बताउँदै ३ नम्बर प्रदेश मै पहिलो पटक यस नगरपालिकाले सरसफाई योजना सार्वजनिक गरेको दाबी गर्नुभयो ।