निर्मलाको हत्यारा पत्ता नलाग्दै पोखरामा घट्यो त्यस्तै अपराध

101

भदौं ९,
कास्की । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरकी १३ वर्षीया पुष्पा केसीको शव लामाचौर फापरतरोस्थित शैलजा स्मृति पार्कको डिलमुनी झाडीमा फेला परेको छ । उनी विद्यालयबाट घर फर्कदै गर्दा बेपत्ता भएकी थिइन् । थानीयले पुष्पाको बलात्कार पछि भएको आशंका गरेका छन् । उनीहरुका अनुसार मृतकको लगाएको स्कर्ट शव भएको स्थान भन्दा ३र४ हात पर भेटिएको छ । त्यस्तै योनाङ्गबाट रक्तश्राव भएको र त्यो रोक्न प्याड प्रयोग गरिएको पाइएको छ । घटना स्थलको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको हुनसक्ने स्थानीयबासीको दाबी छ । यद्यपि प्रहरीले भने अहिले केहि भन्न नसकिने बताएको छ ।

कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (डीएसपी) रविन्द्रमान गुरुङले पुष्पाको शरिरमा बाहिरी चोट पटक नदेखिएको बताए । उनले भने, ‘अहिले नै हत्या वा लडेर मृत्यु के भएको हो यसै भन्न सकिन्न । हामी अनुसन्धान गरिरहेका छौं । पोष्टमार्टम रिपोर्ट आएपछि थप खुल्नसक्छ ।’ बिहीबार कक्षा १ मा अध्ययनरत बहिनीसँगै स्कुल बस चढेर लामाचौरस्थित घरतर्फ गइरहेकी थिइन् । घरमा पुग्न करीब एक सय मिटर तल आएपछि ‘बहिनीलाई घर अगाडि बसबाट झार्दिनू, म टमाटर किनेर ल्याउँछु’ भन्दै बसबाट ओर्लेकी थिइन् । तर, उनी घर फर्किएनन् । परिवारले साथीसँग गइहोली भनेर वास्ता गरेनन् । तर, शुक्रबार पनि उनी स्कुल नआएपछि सोधिखोजी शुरु गरेको थियो । खोज्दै जाँदा झाडीमा शव भेटिएको थियो । टमाटर किन्न भनेर गएकी पुष्पा भीरतिर जानुपर्ने कारण नदेखिएकाले पनि घट्नाप्रति आशंका उब्जाएको छ । पुष्पाको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । सुरुमा आफन्तले पोष्टमार्टम नै गर्न मानेका थिएनन् । घर भन्दा अगाडि नै बसले किन र्झन दिएको हो ? भन्दै घटनाको जिम्मा विद्यालयले लिनुपर्ने शर्त राखेका थिए तर, दिउँसो अनुसन्धानमा सघाउन परिवार तयार भएपछि पोष्टमार्टम प्रक्रिया शुरु भएको हो । पुष्पाका बुबा नृतेन्द्र नेपाल प्रहरीका भूतपूव हवल्दार हुन् । जो गण्डकी बोर्डिङ स्कुल लामाचौरमा सुरक्षागार्डका रुपमा कार्यरत छन् । पुष्पा बिन्ध्यबासिनी मावि कक्षा ६ मा अध्ययनरत थिइन् ।