सिंहदरबारमा सँगै भएनन् पूर्वएमाले र पूर्वमाओवादी

146

नयाँ पत्रिका दैनिक- भदौं १५,
काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० घोषणा भएको तीन महिना बितिसकेको छ । तर, सिंहदरबारमा नेकपा संसदीय दलको कार्यालय भने अझै एउटै हुन सकेको छैन । एकै कार्यालयको अभावमा पूर्वएमाले र पूर्वमाओवादीका सांसद सिंहदरबारमा एकै ठाउँमा भेटिँदैनन् । संघीय संसद् सचिवालयले एकतापछि बनेको नेकपाको संसदीय दलका लागि भवन अभाव रहेको बताएको छ । संसद् सचिवालय भवन नम्बर २ को चौथो तलामा यसअघि माओवादी केन्द्रको संसदीय दलको कार्यालय थियो । पूर्वएमालेको भने कानुन मन्त्रालय र रेडियो नेपालको बीचमा कांग्रेस संसदीय दलको कार्यालयसँगै जोडिएको थियो । दुवैतिर नेपाल कम्युनिस्ट पार्टीको बोर्ड राखे पनि पूर्वएमाले सांसदहरू पूर्वमाओवादी दलको कार्यालयमा जाँदैनन् । त्यस्तै, पूर्वमाओवादीका सांसदहरू पनि पूर्वएमालेको संसदीय दलको कार्यालयमा भेटिँदैनन् ।

नेकपा संसदीय दलका नेता केपी शर्मा ओली र उपनेता सुवास नेम्वाङको कार्यकक्ष पूर्वएमालेको संसदीय दलको कार्यालयमै तोकिएको छ । उता, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सचेतक देव गुरुङको कार्यकक्ष पूर्वमाओवादीकै संसदीय दलको कार्यालयमा छ ।