जथाभावी भिटामिन लेख्छन् क्यान्सरका डाक्टर

129

नयाँ पत्रिका दैनिक- भदौं १५,
चितवन । औषधिको थोक विक्रेताले नै डाक्टरलाई कमिसन दिन मिल्ने गरी केही औषधि पसललाई मात्र बिक्री गर्ने गरेको पाइएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत डाक्टरले बिरामीका लागि जथाभावी भिटामिन लेख्ने गरेको भेटिएको छ । ओपिडी, नाक–कान–घाँटी, मेडिसिन, रेडियसन र अर्थो विभागका डाक्टरले बढी मात्रा भिटामिन लेख्ने गरेको पाइएको हो । क्यान्सर पत्ता लगाउन र उपचार गर्न आउने बिरामी झोलाभरि भिटामिन लिएर घर फर्किने गरेका छन् । डाक्टरले जथाभावी भिटामिन लेखिँदिँदा बिरामीलाई मार परेको छ ।

तर, अनुगमन संयन्त्र नहुँदा बिरामी महँगा र सरकारले सूचीकृत नगरेका अनावश्यक भिटामिन खान बाध्य छन् । एकपटकको भेटमा डाक्टरले रकमको हिसाबले ५० हजार रुपैयाँसम्मको भिटामिन लेखिदिने गरेका छन् । अधिकांशले एक महिना र केहीले तीन महिनासम्मका लागि भिटामिन लेखिदिने गरेको नवलपरासीकी माया चौधरीले बताइन् ।

कमिसनको लोभमा बढी भिटामिन लेखिन्छ
‘यहाँका डाक्टरले आवश्यकताभन्दा बढी भिटामिन लेख्ने गरेको गुनासो मसँग पनि आएको छ,’ क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले भने, ‘सम्बन्धित डाक्टर र विभागीय प्रमुखलाई बोलाई मैले त्यसो नगर्न आग्रह गरेको छु ।’ कुन बिरामीलाई के र कति औषधि वा भिटामिन लेख्ने भन्ने सम्बन्धित डाक्टरमा भर पर्ने हुँदा यस्तो अवस्थामा आफूले केही गर्न नसक्ने कार्यकारी निर्देशक डा। आचार्यले बताए ।