कञ्चनपुरमा बलात्कारी पक्राउ

107

भदौ १६,
कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ का अन्दाजी १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका मानबहादुर विष्ट रहेका छन् । पक्राउ परेका विष्टलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । गत बिहीबार राति २ बजे किशोरीको घरमा पूजापाठ भइरहेका बेला मोटरसाइकलमा आएका दुई जनाले उनलाई सडकमा बोलाई लगेका थिए । शुक्रबार किशोरीलाई जवदिया भन्ने स्थानबाट प्रहरीले उद्धार गरेको थियो । बलात्कारमा संलग्न अर्का एक जनाको प्रहरीले खोजी गरिरहेको छ ।

किशोरीको स्वास्थ्य परीक्षणलगायतका कार्य सम्पन्न गरी अनुसन्धानको कार्य जारी रहेको बताइएको छ ।
वृद्ध मृत फेला कञ्चनपुरको बेलौरी नगरपालिका¬–७ गणेशपुरका ६० वर्षीय पसी रानाको नहरमा डुबेको अवस्थामा आज शव फेला परेको छ । सिमपुरदेखि टेडिया जाने भगतपुरस्थित नहरमा रानाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । स्थानीय बासिन्दाले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शव परीक्षणपश्चात आफन्तलाई जिम्मा लगाइएको छ । रासस