सडकमा डाक्टरः अस्पतालमा बिरामीको छट्पटी

119

भदौं १७,
काठमाडौँ । नयाँ मुलुकी अपराध संहितामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा छन् । आइतबार राजधानीलगायतका देशका मुख्यस्थानहरुमा डाक्टरहरु, स्वास्थ्यकर्मीहरुले अपराध संहिता विरुद्ध प्रर्दशन गरे । नेपाल चिकित्सक संघको नेतृत्वमा भइरहेको यो आन्दोलनको मारमा हजारौं बिरामीहरु परेका छन् । उपचार सेवासमेत बन्द गरेर डाक्टरहरु सडमा उत्रिएपछि अस्पतालका शैयामा भने बिरामीहरु छट्पटी रहेका छन् । काभ्रेबाट बिरामी आफन्तको उपचार गर्न वीर अस्पतालमा आएका एक व्यक्तिले भने समयमा डाक्टर भेट नहुँदा बिरामीमा निकै सकस भइरहेको छ, थाहा छैन् उपचार कहिले हुने हो ।

चिकित्सकहरुले मुलुकी अपराध (संहिता) ऐन २०७४ को बिरुद्धमा प्रदर्शनमा गरेका छन् । आइतबार प्लेकार्ड तथा ब्यानरसहित विरोधमा उत्रिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले माइतिघरबाट नयाँबानेश्वरसम्म र्यालीसहित प्रदर्शन गरेका थिए । उनीहरुले आजै ६ हजारभन्दा बढी चिकित्सकहरुको लाइसेन्स सरकारलाई बुझाउने बताएका छन् । संहिताको खारेजीको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालय अगाडिसमेत चिकित्सकहरु प्रदर्शन गरिरहेका छन् । कोणसभालाई डा. गोविन्द केसी, डा.हरिहर वस्ती, डा.केदारनरसिंह केसी, मुक्तिराम श्रेष्ठ, लगायतले चिकित्सकको मनोवल गिराउने खालको व्यवस्था सच्याउन आग्रह गरे । सरकारले निजी मेडिकल संस्था बन्द गराउने मनसायले नयाँ मुलुकी ऐनमा कडा व्यवस्था गरेको सुनील शर्मा लगायतका वक्ताहरुले बताए । कार्यक्रममा बोल्दै नागरिक अभियन्ता डा. गोविन्द केसीले नयाँ मुलुकी संहितालाई बिरामीमारा कालो कानूनको संज्ञा दिए ।

बिरामीको उपचार गर्दा लापरवाही गर्ने चिकित्सकलाई जेल हाल्ने मुलुकी अपराध संहिताको प्रावधानविरुद्ध चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । तर, उपचारमा संलग्न डाक्टरले भुल गरेको हो वा होइन भन्ने विषयमा अध्ययन गर्न लागि छुट्टै समिति गठनको चिकित्सकहरुले माग गरेका छन् । अस्पतालमा आकस्मिक बाहेकका सेवाहरु अवरुद्ध पारेर देशभरिका चिकित्सकहरु आइतबार सडकमा उत्रिएका छन् । नयाँ मुलुकी अपराध संहितामा गरिएको व्यवस्था खारेजीको माग गर्दै उनीहरु सडकमा आएका हुन् । भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा २३०,२३१,२३२ र २४० लाई संशोधन गर्न माग गर्दै चिकित्सकहरुले नेपाल चिकित्सक संघको अगुवाइमा प्रदर्शन गरेका हुन् ।