एउटै ठाउँमा कर बुझाए पुग्ने बनाउँछौँ …अर्थमन्त्री

86

भदौ १८,
सप्तरी । अर्थमन्त्री युवराज खतिवडाले जनताले धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताएका छन्। सप्तरी सदरमुकाम राजविराजमा सोमबार करदाता सेवा कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले तत्काल सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गरी धेरै ठाउँमा कर तिर्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए। “एकल विन्दुबाट कर उठाउनुपर्नेमा धेरै ठाउँमा कर बुझाउनुपर्ने अवस्था आएको छ,” उनले भने, ‘‘अब धेरै दिन यस्तो रहँदैन, एउटै ठाउँमा कर बुझाए पुग्ने बनाउँछौँ।” उनले करको दायराभन्दा दर बढेकाले कानून बाहिर गएर जथाभावी कर लगाउन नहुने बताए। विदेशी ऋणबाट देशको विकास सम्भव नभएकाले करको दायरा बढाउनुपर्नेमा मन्त्री खतिवडाले जोड दिए। उनले आम्दानी र क्षमताभन्दा बढी कर बढाउन नहुने बताए। “वास्तविकता नबुझेरै कर बढायो भन्ने हल्ला फैलाइएको छ, त्यस्तो होइन्,” उनले भने, “ स्थानीय तहको विकास गर्नु जरुरी रहेकाले जनताले कर तिर्ने बानीको विकास गर्नु पर्छ, जनप्रतिनिधिले जनताले तिरेको कर सही ठाउँमा सदुपयोग गर्नुपर्छ।” करको बारेमा जनता सचेत भए त्यसको दुरुपयोग रोकिने उनको भनाइ थियो। “कर लगाउने अधिकार स्थानीय तहको भए पनि कानून र ऐनभन्दा बाहिर गएर धान्नै नसक्ने गरी कर लगाउन पाइदैन,” अर्थमन्त्री खतिवडाले बताए।