झारफुक गर्ने भन्दै किशोरी बलात्कृत

184

भदौ २२,
बाँके । नेपालगञ्जको गणेशपुरमा साइबाबा भनिने एक व्यक्तिले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । केही समय अघिदेखि बिरामी परेकी बालिकालाई झारफुक गर्ने क्रममा साइबाबा भनिने ती व्यक्तिले उनीमाथि बलात्कार गरेको बुझिएको पीडित किशोरीका आफन्तले बताएका छन् । झारफुक गर्ने क्रममा ती साइबाबाले तीन चार महिनाअघिदेखि नै आफूमाथि बलात्कार गर्दै आएको र बाहिर कसैसँग कुरा गरे जे पनि हुनसक्ने धम्की दिएका कारण आफूले कसैलाई पीडा भन्न नसकेको बलात्कृत किशोरीले प्रहरीसमक्ष बताएको आफन्तले जनाएका छन् । बिहीबार दिउँसो १ बजेतिर किशोरीको योनीबाट धेरै रक्तश्राप भएपछि किशोरीले आफ्नी आमालाई सबै कुरा बताएकी थिइन् । आमाले थाहा पाएपछि घटना बाहिर आएको पीडित किशोरीका काकाले जानकारी दिनुभयो ।

घटना थाहा पाएलगत्तै उनका काकाले जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबाबा भनिने ती व्यक्तिको नाममा किटानी जाहेरी दिनुभएको छ । किटानी जाहेरी परेपछि बाँके प्रहरीले साइबाबा भनिने ती व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका ती व्यक्तिलाई थप अनुसन्धानका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ । बढैयाताल गाउँपालिकाकी १५ वर्षीया ती किशोरीको बिहीबार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचार भएको छ भने उनको पेटमा गर्भ भए÷नभएको बारे रिपोर्ट आउन बाँकी रहेको पीडितका आफन्तले बताएका छन् । ती साइबाबाले पटकपटकको बलात्कारपछि बिहीबार गर्भपतन गराउनेसम्बन्धी औषधिसमेत खुवाएको प्रहरीसमक्ष पीडित किशोरीले बयान दिएकी छिन् । ४६ वर्षीय साइबाबा भनिने ती व्यक्ति विगत केही समयदेखि गणेशपुरमा ज्योतिषीको काम गर्दै आएका थिए । देशभरमा दिनहुँजसो बलात्कारका घटना घटिरहँदा बाँके जिल्लामा पनि एकसातामै दुईवटा यस्ता घटना भएका छन् । रासस