बेसहाराको सहारा: मानव कल्याण समाज

445

भदौ २४,
भक्तपुर । आजको दिन धेरै सन्तानहरु आफ्ना पिताको मुख हेर्न र उपहार दिन टाढा भएपनि भेटन् जान्छन् । तर केही यस्ता सन्तान पनि छन्, जो रोगी भएपछि आफ्ना मातापितालाई सडकमा ल्याएर छोड्छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ यातुमहादेव मन्दिर नजिकै एउटा सेवाघर छ । जहाँ आफन्तले हेला गरेर विभिन्न समस्या, पीडा र रोग लागेपछि सडकलाई आश्रयस्थल बनाएकाहरुको सेवा गरिन्छ । मानव कल्याण समाज नामक एक सामाजिक संस्थाको छातामुनि सहयोगी मनका दानी हातहरुले यो सेवाघरको चुल्हो बाल्न सहयोग गर्दै आएका छन् ।

काठमाडौं मैतिदेवीका उदय (उमेर करिव ६० वर्ष) लाई आफ्नै छोराले सडकमा ल्याएर बेवारिसे अवस्थामा छोडिदिए । २ परिवार भएका उनलाई कान्छी श्रीमतीबाट जन्मिएका छोराले घरबाट मोटरसाइकलमा हालेर सडकमा छाडेर गए । अरुको जस्तो सामान्य अवस्था भए त उनले जिवन चलाउने प्रयास गर्थे होला तर बिडम्वना केही वर्ष यता उनको शरिरको बायाँ भाग पक्षघात भएको छ ।

शारीरिक रुपमा निकै कमजोर उदय सेवाघरमा आएको दुई महिनामा केही तन्दरुस्त भएका छन् । आज कुशे औंशीको दिन सन्तानको व्यवहारलाई सम्झेर उनको आँखामा आँसु आउँछ । उनकी जेठी श्रीमती पट्टीकी छोरीले आएर भेट्ने पनि आफु मृगौलाको रोगी भएकाले बाबुलाई लान सक्दिन भनेपनि हाल उदयको घरनै सेवाघर भएको छ ।

वि.सं. २०७५ सालको बैशाखदेखि सञ्चालनमा आएको यस सेवाघरमा हाल २३ जनाले आश्रयस्थल पाएका छन् । अहिले यहाँ ३ महिनाकी बालिकादेखि ७५ वर्षका पिताले आश्रय पाएका छन् । समाजले छिछि गर्ने मनरोगी मात्र होइन शारीरिक रुपमा अशक्त पक्षघातका बिरामी पनि यहाँ बसेका छन् । जहाँ रहेका मध्ये २ जना बालिका, १२ जना मनरोगी ( पुरुष ५ /महिला ७), २ जना पक्षघातका बिरामी, ३ जना सुन्न बोल्न नसक्ने र ४ जना सामान्य अवस्थाका रहेका छन् ।

जब मानिसलाई परिवारदेखि नै घृणा लाग्छ अनि घर छोड्छ । रोग लागेको बखतमा परिवारले उपचार र हेरचाह गर्नुको सट्टा सडकमा ल्याएर छोडिदिँदा नेपालमा सडक मानवहरुको संख्या दैनिक रुपमा वृद्धि हुँदै गइरहेको मानस कल्याण समाजकी सुमित्रा चौलागाइँले बताइन् ।

विगत केही वर्षदेखि सडक मानवको क्षेत्रमा काम गर्दै आइरहेकी सुमित्रा र उनका अन्य ६ जना साथीहरुको पहलनै हो अहिलेको सेवाघर । २५ जना क्षमताको उक्त सेवाघरमा सबैलाई सुत्ने ओच्छ्यानको व्यवस्थापन गर्न नसक्दा हाल १० जनालाई भने भूइमानै ओच्छ्यान लगाएर सुताउने गरिएको छ ।

जसलाई दैनिक चलाउन मात्र मासिक रुपमा करिब ३ लाख रुपैयाँ लाग्छ । धेरै मनरोगी भएकाले औषधी व्यवस्थापन गर्नु, बिहान खाना, दिउँसो खाना र बेलुकी खाना र अन्य खर्च संस्थाले नेपालका मनकारी दाताहरुको सहयोगमा चलाउँदैं आएको छ ।

रातोपाटी प्रतिनिधिसँग कुरा गर्दै सुमित्राले भनिन्– ‘म २४ सै घण्टा सेवाघरमा रहेका आमाबुवा र दाजु दिदिहरुको सेवामा छु’ उनले थपिन्–‘सुरुमा हामीले सडक मानवलाई खाना खुवाउने प्रयास गर्यौं, त्यसपछि साथीहरुको सहयोगमा यो सेवाघर स्थापना गरेका हौं ।’

सेवाघर सञ्चालनमा सुमित्रासँगै उनका साथीहरु विजयकुमार पोखरेल, रामचन्द्र भण्डारी, सुदर्शन जोशी, कष्णमुरारी पुडासैनी, हरि तिमिल्सिना, सन्तोष निरौला र पछिल्लो समय लक्ष्मण वलले साथ दिएका छन् ।
सुरुका दिनमा साथीहरुबाटनै जम्मा पारेको सामाग्री र पैसाबाट चलेको यो सेवाघरमा पछिल्लो केही समययता भने जन्मोत्सव, विवाहको वर्षगाँठ र पितृको सम्झनामा आएर दान तथा सहयोग गर्नेहरुको संख्या बढेको छ ।