युरिया मल अभाव भएको हुँदा किसान निकै चिन्तित

108

भदौ ३०,
कलैया । बारा जिल्लामा यस वर्ष समय–समयमा पानी परेको कारण धानबाली राम्रो भएको भए पनि समयमा युरिया मल अभाव भएको हुँदा किसान निकै चिन्तित भएका छन् । वर्षे धानखेतीमा प्रतिहेक्टर १९१ किलोको दरले एक करोड ४६ लाख ६०० किलो युरिया आवश्यकता पर्ने भए पनि सो परिपूर्ति हुनसकेको छैन । किसानको आवश्यकताअनुसारको युरिया मल परिपूर्तिका लागि पहल भइरहेको र चाँडै उपलब्ध हुने कृषि विकास कार्यालयका प्राविधिक सहायक राजवंशी चौरसियाले जानकारी दिए । वर्षे धानको वाली निकै राम्रो र सुधारोन्मुख रहेको जिल्ला कृषि विकास एकाइ कार्यालय कलैयाले जनाएको छ । यस वर्ष कृषकले कूल ५२ हजार ६०० हेक्टर क्षेत्रफलमा वर्षे धान भदैया, अगहनी, खेती गरेका छन् । भदैया धान १२ हजार ६०० हेक्टर, अगहनी धान ४० हजार हेक्टरमा किसानले लगाएको जिल्ला कृषि विकास एकाइ कलैयाले जानकारी दिएको छ । गत वर्ष ५२ हजार १७२ दशमलव ८ मेट्रिकटन धान उत्पादन भएको चौरसियाले बताए ।