अध्यक्ष दाहाल चारदिने भ्रमणमा चीन प्रस्थान

48

भदौ ३०,
काठमाडौं । सत्तारूढ नेकपा कम्युनिस्‍ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल चीन प्रस्थान गरेका छन्। अध्यक्ष दाहाल चिनियाँ कम्युनिस्‍ट पार्टीको निमन्त्रणामा चारदिने भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन्। चीन प्रस्थान गर्नुअघि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध सुदृढ गराउने विषयमा केन्द्रित हुने बताए। अध्यक्ष दाहालले दुई देशका सरकारबीच भएको पछिल्ला सहमति र समझदारी प्रभावकारी कार्यान्वयन गराउन आवश्यक वातावरण बनाउन पनि आफ्नो भ्रमण उपयोगी हुने विश्वास व्यक्त गरे। एक फरक प्रसंगमा अध्यक्ष दाहालले पार्टी संगठनहरूको एकीकरणसम्बन्धी छलफल सकारात्मक दिशामा अघि बढेको र आफू चीनबाट फर्किएलगत्तै आवश्यक निर्णय लिने पनि बताए। उनले दसैँअघि संगठनहरूको एकीकरणको काम सम्पन्न हुने दाबी गरे। अध्यक्ष दाहालले एक हप्ताअघि भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्च राजनीतिक भेटवार्ता गरेका थिए। एक हप्ता नबित्दै दुवै छिमेकी मुलुक भारत र चीनमा भएको अध्यक्ष दाहालको भ्रमणलाई चासोपूर्वक हेरिएको छ।