घरेलु मदिराका कच्चा पदार्थः कण्डम र कुहिएको मोजा

156

भदौ ३१,
सुर्खेत । घरेलु मदिरामा मानिसले प्रयोग गरेर फालिसकेका वस्तु मिसाउने गरेका छन् । प्रहरीले घरेलु मदिरामा कुहिएको मोजा र महिलाले लगाउने भित्री वस्त्रहरु प्रयोग गरिएको फेला पारेको छ । लामो समयसम्म प्रयोग भएका त्यस्ता वस्तुले मदिरालाई कडा बनाउने भन्दै प्रयोग गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ । चाडपर्व नजिकिँदै गर्दा अवैध मदिराको विक्री बढेको गुनासो आएपछि प्रहरी सुर्खेत विभिन्न ठाउँबाट अवैध घरेलु मदिरा बरामत गरेको छ । प्रहरीले मदिरा बरामतकै क्रममा मानिसले खान नहुने पदार्थहरु प्रयोग गरे मदिरा बनाइने गरेको फेला पारेको हो ।

‘घरेलु मदिराका कारण समाजमा हिंसा बढेको धेरै गुनासो आयो’ प्रहरी प्रमुख एसपी बसन्त रजौरेले भने, ‘त्यसैले हामीले नगरक्षेत्रका विभिन्न ठाउँमा छापा हान्यौं, तर त्यहाँ मदिरा मात्रै होइन, सुन्ने वित्तिकै घृणा लाग्ने वस्तुहरु प्रयोग गरिएको समेत भेटियो ।’ कडा बनाउने नाममा मदिरा बनाउनेले प्रयोग गरेर फ्यालिएको कुहिएको मोजा, महिलाको भित्री वस्त्रहरु पेन्टी, थोत्रा कपडा र प्रयोग गरिएका कण्डमहरु समेत राखेको एसपी रजौरेले बताए । शनिबार मात्रै जिल्ला प्रहरी कार्यालय सुर्खेतले भारी मात्रमा घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ । २ हजार लिटरभन्दा बढी कच्चा पदार्थ र साढे तीनसय लिटर तयार भएको मदिरा नष्ट गरिएको छ । मंगलगढी चोक क्षेत्र र झुप्रा क्षेत्रबाट मरामत गरिएको बताएको छ ।

दशैं नजिकिँदै गर्दा घरेलु मदिराको बिक्री वितरणमा रोक लगाउन प्रहरीले मदिरा नियन्त्रण अभियान नै सञ्चालन गरेको छ । मदिरा सेवनबाट घरेलु हिंसाका साथै समाजमा अन्य अपराधिक क्रियाकलाप समेत बढ्दै गएपछि अवैध मदिराप्रति कडा निगरानी राखिएको डिएसपी श्यामसिंह चौधरीले बताए ।घरेलु मदिरा पिउँदै हुनुहुन्छ भने ख्याल गर्नुहोस, तपाईँको स्वास्थ्यमा गम्भीर असर गर्ने बस्तुले ज्यान लिन सक्छन् । सस्तो र कडा खाने लोभमा मानवीय स्वास्थ्य र खानै नमिल्ने वस्तुका कारण ज्यानै समेत जान सक्छ ।
घरेलु मदिरा उत्पादकले मानविय स्वास्थ्यलाई मात्र हानी पुर्‍याउने नभइ खानै नमिल्ले वस्तु प्रयोग गर्ने गरेको पाइएको छ ।
-अन्नपूर्णपोष्ट