प्रकाण्ड छुटाउन पाँचौपटक रिट दायर

83

भदौ ३१,
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको दल नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको रिहाईका लागि सर्वोच्च अदालतमा पाँचौपटक रिट दायर भएको छ । प्रकाण्डका भाई वीरेन्द्र विकले आइतबार पाचौंपटक उनलाई गैरन्यायिक हिरासतमा राखेको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् । निवेदनको पेशी भोलीका लागि तोकिएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले रातोपाटीलाई जानकारी दिए ।

प्रकाण्डका भाई वीरेन्द्रले सर्वोच्च अदालतले रिहाईका लागि पटक–पटक आदेश जारी गर्दा समेत गैरकानुनी थुनामा राखेको भन्दै रिट दर्ता गराएका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृहमन्त्रालय, गृहमन्त्री रामबहादुर थापा, प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय प्रहरी वृत्त सिंहदरबार र डिएसपी काजीकुमार आचार्य, महानगरीय प्रहरी परिसर टेकु, उदयपुर जिल्ला अदालत, उदयपुर प्रहरी कार्यालय र प्रहरी प्रमुखलाई विपक्षी मुद्धा दायर गरिएको हो ।

उनका भाई वीरेन्द्रले प्रकाण्डलाई सर्वोच्च अदालतबाट भएको आदेशलाई जानाजान अवज्ञा गर्दै नेपालको संविधानको धारा १२८ को ४ उल्लंघन गर्दै २०७५ भदौ २९ गते चौथोपटक सर्वोच्च अदालत हाताबाटै प्रक्राउ गर्दै अदालतको आदेशको समेत अवहेलना गरेको जिकिर गरेका छन् ।