‘जब बिहेका लागि गहना र जन्ती मागे, मैले मिर्गौला बेचिदिएँ’

68

भदौ ३०,
सञ्चार माध्यममा एक पटक चीनका एक युवाले आइफोनका लागि आफ्नै मिर्गौला बेचे भन्ने समाचार आयो । चीन, भियतनाम लगायतका देशबाट आउने यस्ता समाचार सुन्दै अचम्म र पत्याउन पनि गाह्रो हुने प्रकृतिका हुन्छन् । यद्यपि यस्ता समाचारबार बारम्बार आइरहन्छन् । मानिसका आवश्यकता र शौख जब बढ्दै जान्छन् तब उनीहरू विभिन्न हर्कत गरेरै भए पनि आफ्नो आवश्यकता पूर्ति गर्न अगाडि बढ्छन् । तर केही आवश्यकता यस्ता बाध्यात्मक बनिदिन्छन् कि न त्यसलाई छाड्न सकिन्छ, न त स्वीकार गर्न नै त्यति सहज हुन्छ । नेपालमै एउटा यस्तो घटना भयो, जहाँ विवाह गर्नका लगि एक युवकले आफ्नै मिर्गौला बेचे ।काभ्रेको पाँचखालस्थित भिरमा एउटा सानो छाप्रो छ । यद्यपि उनीहरूका लागि यो छाप्रो नभएर घर नै हो । घरमा २ वटा कोठा छन् । एउटा कोठामा ४ जनाको एउटा परिवार बस्छ भने अर्को कोठामा ३ जनाको अर्को परिवार । पहिलो कोठामा ठूलोभाइ सुनुवारको परिवार बस्छ र दोस्रो कोठामा उनका सालो र उनको परिवार ।उमेरले ३६ वर्ष लागे ठूलोभाइ सुनुवार । घरमा श्रीमती र १३ वर्षका एक छोरा छन् । छोरा कक्षा ७ मा पढ्छन् ।खासमा ठूलोभाइको वास्तविक घर पलाञ्चोक पनि होइन । काभ्रेकै अर्को स्थानबाट बसाइ सरेर आएका हुन् उनी । यहाँ करिब २ आना जग्गा किनेर सानो छाप्रो हालेका छन् र यही छाप्रोमा आफ्नो जीवन बिताइरहेका छन् उनी । पलाञ्चोकमा ठूलोभाइलाई सबैले घन ठकुरी भन्छन् । फलामको काम गर्ने र ‘घन ठोक्ने’ भएकाले उनलाई घन ठकुरी भनिएको रहेछ । यद्यपि उनले घरमै फलामको काम गर्न एउटा सानो आरन पनि राखेका छन् ।औपचारिक कुराकानी गर्दै गर्दा करिब ३५, ३६ वर्षकी एक महिला आइपुगिन् । ठूलोभाइले सुनाए, ‘उनीचाहिँ मेरी श्रीमती ।’ उनी मुसुक्क हाँसिन् । मैले आफ्ू रातोपाटी अनलाइनबाट आएको र पत्रकार भएको परिचय दिएँ ।दुवै जनाले यो कुन टिभीको कार्यक्रम हो र कतिबेला आउँछ भनेर सोधे । मैले टिभी नभएर कम्प्युटर वा मोबाइलमा पढ्ने पत्रिका भएको बताएँ । नबुझे पनि उनीहरूले ‘ए ’ भनेर चुपचाप बसे ।