महोत्तरीको झाडापखालाको प्रकोप: एक बालिकाको मृत्यु

542

असोज ४,
महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका १२ नैन्हीमा झाडापखाला फैलिएको छ । झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ । झाडापखालाबाट बिरामी चार वर्षीया बालिका खुश्बु खातुनको उपचारका लागि जलेश्वर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । झाडापखाला प्रकोप बढेपछि जिल्ला स्वास्थ्य कार्यालयले नैन्हीमा शिविर राखेर उपचार गरिरहेको छ । जनस्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले स्वास्थ्य शिविरमा एकसय भन्दा बढीको उपचार भइसकेको बताए । बिरामीको संख्या बढिरहेको छ ।

झाडापखालाका बिरामीलाई स्थानीय मदरसा र नजिकै रहेको स्वास्थ्य चौकीमा राखेर उपचार गर्ने क्रम जारी छ । झाडापखालाले गम्भिर बनेका केहीलाई जिल्ला अस्पतालमा पठाइएको छ । मुस्लिम टोलमा मंगलबार रातिदेखि झाडापखाला संक्रमण देखिएको थियो । उनीहरुको बुधबार बिहानैबाट उपचार थालिएको थियो । खेतमा पानी जमेको स्थानमा पाइएका माछा खाँदा भाडापखाला फैलिएको चिकित्सकहरुले बताएका छन् । जिल्ला अस्पताल जलेश्वरका प्रमुख डा। राजीव झाले प्रभावित क्षेत्रमा चिकित्सक टोलीले उपचार गरिरहेको बताए । अन्यत्र संक्रमण फैलिन नदिने गरी काम भैरहेको उनले जानकारी दिए । अनलाइनखबर