हरियो चिया पत्ती उत्पादनमा कमी

642

असोज ४,
इलाम । पछिल्लो समय हरियो चिया पत्ती उत्पादनमा कमी आएको छ । उत्पादन कम हुँदा चिया प्रशोधन गर्ने कारखानालाई सधैँ हरियो पत्तीको अभाव हुने गरेको छ । केन्द्रीय तथ्याङ्क विभाग र चिया तथा कफी विकास बोर्डले गरेको सर्वेक्षण अनुसार नेपालमा चिया प्रशोधन गर्न ११३ उद्योग सञ्चालनमा छन् । चिया प्रशोधन उद्योगको वार्षिक तयारी चिया उत्पादन क्षमता पाँच करोड २१ लाख किलो रहेको छ । एक सय १३ उद्योगले वार्षिक एक करोड ८९ हजार ५८ हजार किलो हरियो चिया पत्ती उत्पादन गर्दै आएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्री कार्कीले बताउनुभयो ।
चिया कारखानाको उपयोग ३६ दशमलव ४ प्रतिशत मात्र रहेको छ । आव २०७४÷७५ मा केन्द्रीय तथ्याङ्क विभागले सङ्कलन गरेको तथ्याङ्कअनुसार पछिल्लो समय उद्योगको संस्था बढ्दै गए पनि चिया खेती विस्तारमा कमी आएको छ । “उद्योग धेरै खुले, हरियो चिया पत्ती तिनै उद्योगमा बाँडिन्छ,” कार्कीले भन्नुभयो । उद्योगको वार्षिक क्षमताभन्दा ६४ दशमलव ४ प्रतिशत कम तयारी चिया उत्पादन हुँदै आएको चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतम बताउनुहुन्छ । “पछिल्लो समय चिया खेती विस्तारभन्दा उद्योग विस्तारको क्रम बढेको छ,” उहाँले भन्नुभयो । चौध जिल्लामा विस्तार भएको चिया खेतीमध्ये पहाडी जिल्लामा अर्थोडक्स र तराईमा सिटिसी उत्पादन हुँदै आएको छ । सर्वेक्षणअनुसार नेपालमा २०४० साल अघि २ दशमलव २ प्रतिशत, २०४० सालदेखि २०५० सम्म १४ दशमलव ४, २०५० सालदेखि २०६० सालसम्ममा ५४ दशमलव ६, २०६० सालदेखि २०७० सम्म २७ तथा २०७० सालयता १ दशमलव ९ प्रतिशत मात्रै चिया खेती विस्तार भएको छ ।