भरतपुरले भएको विकाशले सकारात्मक सन्देश दिन्छः प्रचण्ड

195

असोज ७,
चितवन । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाले एकपछि अर्को गर्दै विकासमा फड्को मार्दै गएको दावी गरेका छन् । उनले नेपालको समृद्धिको ढोका भरतपुरले खोल्दै गएको समेत बताए ।
आइतबार भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित तरकारी तथा फलफूल बजारको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले भरतपुरमा लगातार भइरहेको विकासले देशभरि नै सकारात्मक सन्देश दिएको बताए । उनले भने, ‘विकासको नमुना मोडेल भरतपुरले देखाएको छ । यहाँ देशकै नमुनाको रुपमा सिटी हलको कुरा अगाडि बढेको छ, रिंगरोड, लिंकरोड, क्रिकेट रंगशाला, बनाउने दिशामा भरतपुर अगाडि बढेको छ । ’

चितवन जिल्ला विकासका काममा अगाडि बढ्ने जमर्को गर्ने जिल्लामा गनिएको प्रचण्डकोे भनाइ थियो । उनले भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला चितवनमा बनाउने कुरा अन्तिम चरणमा पुगेको भन्दै यसबारे प्रधानमन्त्री र अर्थमन्त्रीसँग आफुले कुरा गसिकेको जानकारी दिए । त्यस्तै प्रचण्डले जलमार्ग र जलाशयको उपयोगको कुरा पनि भइरहेको बताए । भैँसालोटनदेखि देवघाटसम्मलाई जलमार्गको रुपमा अगाडि बढाउने विषयमा छलफल भएको भन्दै प्रचण्डले त्यसका लागि तटबन्धसहित रिंगरोड भइदिए उपयुक्त हुने धारणा राखे । भारत र चीनले पनि चितवन र भरतपुरलाई विशेष रुपमा हेरेको प्रचण्डको भनाइ थियो । प्रचण्डका अनुसार राष्ट्रियस्तरमा नेतृत्व गर्ने नेताहरु पनि चितवनमै भएकाले विदेशीहरुले चितवनलाई ध्यान दिएको आफुले पाएको भन्दै आफुहरुले नयाँ पुस्तालाई केही दिनुपर्ने बताए । रातोपाटी