हवाइ सेवा प्रभावित हुँदा पर्यटनमा असर

71

असोज १०,
सोलुखुम्बु । सोलुखुम्बुका विमानस्थलमा हवाई सेवा प्रभावित बनेको छ । फाप्लु विमानस्थलमा काठमाडौँदेखि फाप्लु आउने यात्रु नहुँदा र लुक्ला विमानस्थलमा मौसम प्रतिकूलताको कारण हवाई सेवा प्रभावित बनेको हो । असार महिनामा मौसम प्रतिकूलताको कारण नियमित उडान बन्द गरेका निजी कम्पनीका विमानले असोज पहिलो साता बितिसक्दा पनि फाप्लु विमानस्थलमा नियमित उडान गर्न सकेका छैनन् । काठमाडाँैदेखि सल्लेरी सीधा सडक यातायात सञ्चालन भएसँगै हवाई यात्रुको सङ्ख्यामा कमी आएको बताइन्छ । विगत ५ महिनादेखि उडान नगरेको समिट एयरलाइन्सले काठमाडौँबाट आउने यात्रु नभएकाले नै उडान तालिका नराखेको जानकारी दिएको छ । फाप्लुबाट यात्रु पाए पनि काठमाडौँबाट सोलुखुम्बु आउने यात्रु नहँुदा उडान हुन नसकेको समिट एयरलाइन्स फाप्लुका इन्चार्ज मिङमार शेर्पाले जानकारी दिनुभयो । काठमाडौँबाट यात्रु पाएको खण्डमा नियमित उडान तालिका राख्ने उहाँको भनाइ छ ।

मौसम प्रतिकूलताका कारण हवाई उडान प्रभावित हुने भएपछि काठमाडाँैबाट सोलखुुम्बु आउने यात्रुको सङ्ख्यामा कमी आएको विमान कम्पनीका कर्मचारीको भनाइ छ । यता तारा एयरलाइन्सले भने मौसम प्रतिकूलता भएको समय बाहेक अरु समयमा नियमित उडान गरिरहेको दाबी गरेको छ । तारा एयरलाइन्सले हप्तामा दुई दिन नियमित उडान गरिरहेको तारा एयरलाइन्स फाप्लुका इन्चार्ज शैलेश श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि सदरमुकाम नजिकै रहेको उक्त विमानस्थलमा नेपाल एयरलाइन्स, समिट एयरलाइन्स र तारा एयरलाइन्सले नियमित उडान गर्दै आएका थिए । उक्त समयमा समेत टिकट पाउन मुश्किल हुने गरेको यात्रुको भनाइ छ । रासस