उदयपुरमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

75
सांकेतिक तस्विर

असोज १३,
उदयपुर । केही दिनदेखि हराइरहेका उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुनका ४० वर्षीय मोहम्मद वकिल मियाँ त्रियुगा नगरपालिका–३ को त्रियुगा नदीस्थित हात्तीमारा बगरमा शुक्रबार मृत फेला परेका छन् । मियाको हत्या भएको हुनसक्ने र आफन्तले प्रहरीमा शुक्रबार नै जाहेरी दिएपछि मियाँसँगै हिँड्ने ३३ वर्षीय महिलालाई अनुसन्धानका लागि शुक्रबार नै पक्राउ गरेर अनुसन्धान शुरु गरेको प्रहरीले बताएको छ ।

खोलाले बगाएर एकको मृत्यु

जिल्लाको उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा शुक्रबार स्थानीय वैद्यनाथ खोलामा नुहाउने क्रममा खोलाले बगाएर एकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा उदयपुरगढी–६ का ३७ वर्षीय शेरबहादुर कार्की रहेका छन् । शुक्रबार दिउँसो नुहाउनका लागि खोलामा पसेका कार्कीलाई खोलाले २०० मिटरभन्दा तलसम्म बगाएका कारण कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

ढिस्कोले पुरिएर मृत्यु

त्यसैगरी उदयपुरको रौतामाई गाउँपालिका–६ स्थित बोलुङखा चिसापानीको निकास भन्ने स्थानमा घर पोत्ने माटो खन्ने क्रममा शुक्रबार दिउँसो एक महिलाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घर पोत्ने माटो खन्न गएकी रौता–६ की ५९ वर्षीया मधुमाया रायको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । यस्तै स्थानीय ३४ वर्षीय सुवास विक, ५२ वर्षीय तिलक कार्की र १३ वर्षीया बबिता बस्नेत घाइते भएको पनि प्रहरीले बताएको छ । रासस