विकाशको गतिः बल्ल एउटा झोलुङ्गे

125

असोज १४,
भीमदत्तनगर । केही साताअघि निरन्तर कटान गरेर जोगबुढा नदी बस्ती छेउमै पुगेपछि कञ्चनपुरको महाकाली नगरपालिका–१० कुतियाकवरका बासिन्दा त्रसित बने । नेपाल–भारत सीमासँगै जोडिएको यहाँका बासिन्दा जोगबुढा नदीमा आउने बाढीले मात्रै होइन, वर्षौंदेखि अभाव र सङ्घर्षका बीच सीमाको पहरेदार बनेर बस्दैआएका उनीहरु झोलुङ्गे पुल भत्किएर गन्तव्यविहीन होला कि भन्ने चिन्ताले पनि उतिकै ग्रसित छन् ।

राज्यको कुनै उपस्थिति नै रहेको देख्न नपाइने कुतियाकवरमा दुई वर्षअघि मात्रै झोलुङ्गे पुल बने पछि आफ्नै मुलुकतर्फ आउने बाटो खुलेको हो । झण्डै चार दशकअघि बसेको यस बस्तीमा हाल ३४ परिवारको मात्रै बसोबास छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली र सुरक्षा जस्ता आधारभूत सुविधा अहिलेसम्म यस वस्तीमा देख्न पाइँदैन । दुई वर्षअघिसम्म जोगबुढा नदीमा डुङ्गाको सहारामा ओहोरदोहोर गर्ने कुतियाकवरवासीलाई अझै पनि भारत गएर अन्न कुटाइ-पिसाइ गर्नुपर्ने बाध्यता छन् ।

विसं २०२५ देखि बस्तीमा बस्दैआएका टमटाले नदी कटानकै कारण बस्ती साँघुरिदै गएको अनुभव सुनाए । पहिले करीब अढाई सय परिवारको यहाँ बसोबास थियो । अहिले धेरै नै खुम्चिएको छ । जोगबुढा नदीले कहिले वारि त कहिले पारि कटान गरेर बस्ती नै विस्थापन गर्ने भय सिर्जना गरिदिएको उनले बताए । आधारभूत सुविधाबाट वञ्चित कुतियाकवर गाउँमा अहिलेसम्म दुई जना मात्रै सरकारी सेवामा रहेको स्थानीयवासी बताउँछन् । स्थानीयवासी थापामगरका अनुसार केही वर्ष अघिदेखि दुई जना युवक नेपाली सेनामा कार्यरत रहिआएका छन् ।

जोगबुढा नदीमा डुङ्गा मात्रै चल्थ्यो । लामो समयपछि बल्लबल्ल यहाँ एउटा झोलुङ्गे पुल बन्नसक्यो । “पहिले किस्ती नचल्दा बालबालिकाहरुले स्कूल समेत जान नसक्ने अवस्था थियो,” थापामगरले भने – “अहिले बनाएको झोलुङ्गे पुल पनि धेरै दिन नचल्ला कि भन्ने डर छ ।” रासस